सरकारी सुविधा घरदैलोमै पु¥याउन म्याग्दीको तामकमा व्यवसाय दर्ता शिविर (तस्बिरहरु)

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि बजार इकाइको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

शिविरको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका प्रमुख थमसरा पुनले ग्रामीण भेगका नागरिकलाई आफ्नो पेशा, व्यवसाय दर्ता गरेर सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले कानुनतः जुनसुकै पेशा तथा व्यवसाय पनि दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था भएकाले सोहीअनुसार गर्न आग्रह गर्दै स्थानीय सरकारको तर्फदेखि आफूहरुले सक्दो सहयोग र पहल गर्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले उद्योग, व्यवसाय राम्रोसँग सञ्चालन हुन सकेमा गाउँपालिकालाई पनि राम्रो हुने बताउनुभयो । उहाँले ग्रामीण भेगका उद्योगी, व्यवसायीहरुलाई घरदैलोमै सरकारी सेवासुविधा उपलब्ध गराउनका लागि शिविरको आयोजना गरिएको बताउँदै उद्योग वाणिज्य संघले व्यवसायी र सरकारी कार्यालयको बीचमा समन्वय तथा सहकार्य गर्ने गरेको जानकारी दिनुभयो ।

व्यवसाय दर्ता शिविरमा आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिकराम आचार्यले व्यवसायीहरुले सकेसम्म जरिवाना तिर्ने अवस्था नआउने गरी आफ्नो पेशा तथा व्यवसाय सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले दर्ता प्रक्रिया पुरा नगरी पेशा, व्यवसाय सञ्चालन गरेको पाइएमा नियमअनुसार कारवाही हुने बताउँदै यसअघि दर्ता नभई पसल सञ्चालन गरेको भए पछिल्लो तीन वर्षको राजश्व तिरेर पसल दर्ता गर्न सकिने बताउनुभयो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख युक्तप्रसाद शर्माले दर्ता गरेर इजाजत लिएर मात्र मदिराजन्य पेयपदार्थ र वस्तुको कारोबार गर्न आग्रह गर्नुभएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौड्यालले महिलाको नाममा छ सय र पुरुषको नाममा ११ सय रुपैयाँ तिरेर ५ वर्षसम्मका लागि पसल दर्ता गर्न सकिने भन्दै पसल दर्ता गरेर मात्रै व्यावसायिक कारोबार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ग्रामीण भेगका नागरिकको पसल दर्ता तथा नवीकरण गर्नका लागि गाउँघरमै शिविर ल्याइएको समेत जानकारी दिनुभयो ।


नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य राखेको व्यवसाय दर्ता शिविर उद्घाटन कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि बजार इकाई अध्यक्ष तेजेन्द्रबहादुर थापाको अध्यक्षता र स्वागत तथा उपाध्यक्ष नरेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

दुई दिनसम्म चल्ने व्यवसाय दर्ता शिविरमा धवलागिरि गाउँपालिका र छिमेकी गाउँपालिका मालिकाबाट उद्योगी, व्यवसायीहरु पुगेर आ–आफ्नो पसल दर्ता गरिरहेका छन् । सोही कार्यक्रमको अवसरमा धवलागिरि–७, सिबाङका ओमबहादुर सुनारलाई म्याग्दी उद्योग वाणिज्य संघको व्यवसायी हितकोषमार्फत २५ हजार रुपैयाँ राहत सहयोग गरिएको थियो । यसैबीच म्याग्दी उद्योग वाणिज्य संघद्वारा मालिकाको दरबाङमा पनि व्यवसायीहरुबीच भेटघाट गरी अन्तत्र्रिmया एवं छलफल गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार