अरुण तेस्रो आयोजनामा कार्यरत एक मजदुरको मृत्यु

खाँदबारी । सङ्खुवासभामा निर्मार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

बुधबार राति ८ बजे चिचिला–३ सोलाखानीमा रहेको अडिट ३ को सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर सिंह घाइते भएका थिए । उनको बुधबार राति उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारीमा मृत्यु भएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो । सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ ।

हालसम्म अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक दर्जन भारतीय र नेपाली मजदुरले ज्यान गुमाइसकेका छन् ।घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा खटिसकेको छ । दुर्घटनाका कारणसहितको प्रतिवेदन ल्याउन प्रहरीलाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो । सुरुङभित्र काम गर्न मजदुरलाई निकै जोखिम भए पनि आयोजनाले सुरक्षा सामग्री नदिएको मजदुरको गुनासो छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार