यु–१९ महिला टोलीको बिदाइ

काठमाडौँ। नेपालले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको छ। बंगलादेशमा आयोजना हुने साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने टोलीको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ र कप्तान अन्जना रानामगरले उपाधि जित्ने लक्ष्यका साथ चुनौती प्रस्तुत गर्ने बताएका हुन्।

अन्जनाको कप्तानीमा साफ खेल्ने २३ सदस्यीय नेपाली टोलीलाई सोमबार बिदाइ गरिएको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले बिदाइ गरेका हुन्।

सो अवसरमा सदस्यसचिव घिसिङले विजेता बन्ने मनोबलका साथ खेल्न आग्रह गर्दै परिषद्ले राष्ट्रिय टोलीको प्रदर्शन सुधारका लागि योजना बनाएको समेत बताए। एन्फा अध्यक्ष शेर्पाले पनि नेपाली टोलीको तयारी राम्रो रहेकाले उपाधि जित्नेमा आफूहरू ढुक्क रहेको विश्वास व्यक्त गरे। आगामी डिसेम्बर ११ देखि २२ सम्म ढाकामा आयोजना हुने प्रतियोगितामा पाँच राष्ट्रले चुनौती प्रस्तुत गर्दै छन्।

आयोजक बंगालदेशसँगै नेपाल, भुटान,भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिनेछन्। नेपाली टोली मंगलबार बंगलादेशतर्फ प्रस्थान गर्दै छ। मुख्य प्रशिक्षक श्रेष्ठले आइतबार २३ सदस्यीय नेपाली महिला खेलाडीको नाम सार्वजनिक गरेका थिए।

गोलकिपर अन्जनाको कप्तानीमा रहेको टोलीमा सावित्री किशन, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मञ्जुकुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मिकुमारी घिसिङ,सदिपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दीपा शाही, कुसुम खतिवडा, सविता रानामगर,सरस्वती हमाल, प्रीति राई, अमिशा कार्की र मेनुकाकुमारी आले मगर छन्। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तारिखमा तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्ने तालिका छ। यस्तै आफ्नो चौथो खेलमा नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल डिसेम्बर २२ मा हुनेछ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार