हेलिकप्टर दुर्घटनाबाट भारतीय पूर्व सेना प्रमुख विपिन रावतको मृत्यु

एजेन्सी । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको छ। भारतीय वायुसेनाले ट्वीट गर्दै उहाँको निधनको आधिकारिक जानकारी दिएको हो।

भारतीय सेनाका पूर्वप्रमुखसमेत रहेका रावत चढेको हेलिकप्टर बुधबार तमिलनाडु राज्यको कुनुरमा दुर्घटना भएको थियो। दुर्घटना परि विपिन रावत, उहाँकी पत्नी र सशस्त्र बलका अन्य जवानसहित १३ जनाको मृत्यु भएको छ। रावत यसअघि भारतीय सेनाका प्रमुख हुनुहुन्थ्यो । उहाँपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख हुनुभएको छ । रावत अहिले भारतको चिफ अफ डिफेन्स स्टाफ हुनुहुन्थ्यो।

यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थाल्नुभएको थियो । दुर्घटनापछि सामाजिक सञ्जालमा उपलब्ध भिडिओहरूमा हेलिकप्टर पूर्ण क्षतिग्रस्त अवस्थामा रहेको र त्यसका पार्ट पूर्जाबाट धुँवाको मुस्लो र आगो निस्किरहेको देखिएको थियो।

हेलिकप्टरमा आगो लागेकाले शवहरू पहिचान गर्न कठिन भएको थियो। उहाँहरूको डिएनए परीक्षणबाट पहिचान गरिएको थियो।
उक्त हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको थियो । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रावतको निधनमा दुस्ख व्यक्त गर्नुभएको छ । ‘तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मलाई अत्यन्तै दुस्ख लागेको छ।

त्यसमा हामीले जेनरल विपिन रावत, उहाँकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूलाई गुमायौं। उहँहरूले पूर्ण मेहनतका साथ भारतको सेवा गरेका थियो । दिवङ्गत भएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्छु’, प्रधानमन्त्री मोदीले भन्नुभएकोे छ।यता भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे जानकारी दिन संसद्‌मा सम्बोधन गर्ने भएका छन्।यसैबीच भारतीय वायु सेनाको एमआई–१७ भी ५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाएको सेनाले जानकारी दिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार