बजेट फ्रिज हुन नदिन मन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखसँगको बैठकमा मन्त्री गहतराजले यस्तो निर्देशन दिनुभएको हो । विकास निर्माणको अवस्था र आइपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा मन्त्री गहतराजले विकास निर्माणको ठेक्का लिएका निर्माण कम्पनीले ठेक्का पाइसकेपछि काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले विकासको गतिपछि धकेलिएको स्मरण गराउनुभयो ।

करिब एक दर्जन बढी कार्यालय प्रमुखहरूको उपस्थिति रहेको बैठकमा मन्त्री गहतराजले कुनै पनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफूले सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै मन्त्री गहतराजले काममा लापरबाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दबाब सृजना गर्न लगाउनुपर्ने बताउनुभयो ।

त्यसक्रममा सिक्टा सिँचाइ आयोजना, हुलाकी सडक, बाँकेमा पूर्ण विद्युतिकरणलगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुनलागेका सडक तथा पुल र विकास निर्माणको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखसँग जानकारी लिनुभएको थियो । बैठकमा उपस्थित कार्यालय प्रमुखहरूले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । karobardailyबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार