
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीले आगामी निर्वाचनमा तीन वटै तहमा चुनाव जितेर बहुमतको सरकार बनाउने दावी गर्नुभएको छ ।
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पुस्तकका लेखक रहेका डा. महतले भन्नुभयो,’सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस समावेशी राजनीतिमा प्रवेश गरेको छ । सबै नेपालीलाई बराबरीको हिस्सेदार बनाएको छ । त्यसलाई पूर्णता दिने जिम्मेवारी पूरा गर्न उहाँलाई दोस्रो कार्यकाल भए बल पुग्नेछ ।’उहाँले पार्टीमा आफ्नो स्पष्ट बहुमत रहे पनि त्यसको उपयोग गर्दा पार्टीमा विभाजनको रेखा कोरिन नदिन सहमतिका आधारमा पार्टी सञ्चालन गरेर पार्टी सभापति भएकै दिनदेखि देउवाले अत्यन्त बुद्धिमतापूर्ण र दूरदृष्टिपूर्ण काम गर्नुभएको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बहुमत,अल्पमतका आधारमा निर्णय गर्दा अन्य पार्टीमा आएको विग्रह हेर्दा सभापतिको विचार सही रहेको पुष्टि हुन्छ ।’पार्टीका सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसलाई आधुनिक,गतिशील र आमजनतासंग जोडिने बनाउने बाचा गर्दै भन्नुभयो, ‘आफ्नो गाऊँ ठाउँमा बसेर काम गर्ने कार्यकर्ताले पनि केन्द्रका नेताहरुलाई नचिनिकनै कामका आधारमा मूल्यांकन भएको थाहा पाउने पद्धति विकसित गरिनेछ ।’
उहाँले अब काम भएन भनेर कुरा गरेर दिन कटाउने दिन आउन नदिने बताउदै भन्नुभयो, ‘आगामी कार्यकालमा पार्टीले काम दिएको दियै गर्नेछ । कार्यक्रम दिनेछ । चिया पसलमा बसेर नेता तथा सहकर्मीहरुको कुरा काट्ने अवसर दिने छैन ।’आज विमोचित पुस्तक डा.प्रकाश शरण महतले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह(अर्थशास्त्र)मा तयार गरेको थेसिसको परिस्कृत रुप हो । रातोपाटीबाट