द्वन्द्वपीडितलाई चाँडै न्याय दिलाउँछु : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितलाई चाँडै न्याय दिने प्रतिबद्धता जनाउनुभएको छ । ७३औँ विश्व मानव अधिकार दिवसका अवसरमा मानवअधिकार आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सत्यनिरुपण तथा मेलमिलापमार्फत् द्वन्द्वपीडितलाई न्याय दिने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले नेपाल आफैँले द्वन्दलाई समाधान गर्नु विश्वकै उदाहरणीय काम भएको जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवाले सीमान्तकृत, विपन्न, लैङ्गिक अल्पसङ्ख्यक, अपाङ्गता भएका एवम् पछि परेका क्षेत्र, वर्ग र समुदायको मानव अधिकार सुनिश्चितता गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा पनि सरकारले आफ्ना नागरिकको मानव अधिकारको संरक्षणमा काम गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको संरक्षण राज्यको कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै मिलेर माधवअधिकार संरक्षणका लागि जुट्नुपर्ने धारणा राख्नुभयो । मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दीगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झनास्वरुप हरेक डिसेम्बर १० का दिन यो दिवस मनाइन्छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार