बेनी खानेपानी उपभोक्ता संस्थाको २२औं वार्षिक साधारणसभा (तस्बिरहरु)

म्याग्दी । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल नारासहित बेनी खानेपानी उपभोक्ता संस्था म्याग्दीको बुधबार सदरमुकाम बेनीमा २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका सचिव राजेन्द्रकुमार श्रेष्ठले प्रगति र कोषाध्यक्ष टंकबहादुर हमालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

गत आर्थिक वर्ष २०७७÷७८ मा कुल एक करोड ७४ लाख ६८ हजार एकसय चार रुपैयाँ आम्दानी गरेकोमा ८८ लाख ६९ हजार चारसय ८२ रुपैयाँ प्रशासनिक खर्च भई ८५ लाख ९८ हजार छ सय २२ रुपैयाँ सञ्चित भएको संस्थाले जनाएको छ । यसैगरी सोही आवमा ट्याङ्की निर्माणका लागि संस्थालाई सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीबाट ४२ लाख ८१ हजार आठसय २० रुपैयाँ अनुदान प्राप्त भएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले मानव जीवनका लागि मात्र नभई सम्पूर्ण प्राणि जगत, बोटविरुवा तथा सबैलाई खानेपानीको आवश्यकता रहेको बताउनुभयो । उहाँले बेनी खानेपानी उपभोक्ता संस्थाले उपभोक्ताहरुलाई सुरक्षित रुपमा स्वस्थ खानेपानी उपलब्ध गराइरहेको बताउँदै खानेपानी उपभोक्ता समिति, कर्मचारी र उपभोक्ताले खानेपानीको प्रयोग तथा व्यवस्थापनमा पु¥याएको योगदानको उच्च प्रशंसा समेत गर्नुभयो ।

बेनी खानेपानी उपभोक्ता संस्थाका सल्लाहकार सुवासकुमार श्रेष्ठले मानवको दैनिक जीवनमा बिहान उठ्नेबित्तिकै सबैभन्दा पहिला खानेपानीको आवश्यकता पर्ने हुँदा मानव जीवनलाई खानेपानी अपरिहार्य रहेको बताउनुभयो । उहाँले बेनीबजार क्षेत्रमा दुई लाइनमा पाइप राख्ने, अग्लो तथा होचो ठाउँमा छुट्टाछुट्टै पाइप राखेर जडान गर्न सकेमा सबै ठाउँमा समान तरिकाले पानी वितरण हुने बताउँदै ४१ प्रतिशत पानीको चुहावट नियन्त्रण गर्न सकिनेमा जोड दिनुभयो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका प्रमुख कुलप्रसाद पौडेलले विरोधका लागि विरोध नभई उपभोक्ताहरुले खानेपानी सहज आपूर्तिका लागि रचनात्मक सहयोग गर्नुपर्ने बताउँदै बेनी खानेपानी उपभोक्ता संस्थालाई परेको समस्याबारे आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा पर्वत बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मी, बागलुङ नगरपालिका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष निरज शाक्य, शिवालय खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कुश्मा पर्वतका सचिव तेजेन्द्र सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, उपभोक्ताद्वय उत्तमकुमार कर्माचार्य र भुनु तिलिजाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अवसरमा संस्थामा उत्कृष्ट काम गर्ने कर्मचारीतर्फ मिटर–रिडर अर्जुन पौडेल शर्मालाई नगद पाँचहजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै सुन्दरमान शेरचन र हिमबहादुर भण्डारीलाई पनि उत्कृष्ट उपभोक्ताको रुपमा सम्मान गरिएको छ । खानेपानीको ट्याङ्की आसपास क्षेत्रमा वृक्षारोपण गरेर सहयोग गर्ने दलप्रसाद श्रेष्ठलाई पनि फोटासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले मानव जीवनमा खानेपानीको महत्व धेरै रहेकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रम बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षता, उपाध्यक्ष रमेश गिरीको स्वागत र सचिव राजेन्द्रकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार