ओलीको प्रक्षेपण : पहिलोमात्र होइन, बहुमतप्राप्त एमाले !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी तीनै तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो मात्रै नभएर बहुमत प्राप्त पार्टी बन्ने प्रक्षेपण गर्नुभएको छ । साथै उहाँले सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिको सामना गर्ने क्रममा आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुने समेत बताउनुभएको छ।

दशौं महाधिवेशनपछि पहिलो अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष ओलीले एमालेले अघि सारेको नीति, कार्यक्रम र निर्णयहरु सफल कार्यान्वयन भए आगामी एक बर्षभित्र हुने तीनै तहका निर्वाचनमा एमाले पहिलो मात्र नभई बहुमत प्राप्त पार्टी बन्ने बताउनुभएको छ । अबको एकवर्ष भित्रमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचनहरू आयोजना हुनेछन् ।

स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था छ’, ओलीले जारी गरेको पहिलो अन्तर पार्टी निर्देशनमा (अपानि) भनिएको छ, ‘उल्लेखित निर्णयहरूको सफल कार्यान्वयनबाट हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ ।’ अध्यक्ष ओलीले त्यस दिशामा अग्रसर हुन सबै नेता कार्यकर्ताहरूलाई आह्वान समेत गर्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले नेपालमा अस्थिरता सिर्जना गर्ने र राजनीतिक स्थायित्व कायम हुन नदिने प्रपञ्चअनुरुप एमाले पार्टी र नेतृत्वका विरुद्धमा नियोजित हमला हुँदै आएपनि जनताका बीचमा एमाले हिजोको तुलनामा आज अझै लोकप्रिय बन्दै गएको दावी समेत गर्नुभएको छ । तर जनताका बीचमा हाम्रो पार्टीको लोकप्रियता हिजोको तुलनामा अझै ज्यादा बृद्धि भएको छ ।

दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका क्रममा भएको जनसमुदायको अभूतपूर्व र ऐतिहासिक उपस्थितिले उक्त सच्चाइलाई उजागर गरेको छ ।’अध्यक्ष ओलीले स्वाधिनता र स्वाभिमानको पक्षमा उभिने सबै नेपालीहरूको साझा पार्टी बनाउँदै विकास र समृद्धिको आकांक्षा राख्ने नेपालीहरूको साथ र समर्थनप्राप्त पार्टीका रुपमा अघि बढाउने पनि बताउनुभएको छ।

साथै उहाँले जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने कुरामा सहमत सबै प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा नेकपा (एमाले) लाई विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।त्यसका लागि दोस्रोपूर्ण बैठकबाट महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान सञ्चालन गर्ने निर्णय गरेका छौं । महाधिवेशनको दिशानिर्देश अनुरुप पार्टी र जन संगठनको संगठनात्मक कामलाई व्यवस्थित गर्ने महत्वपूर्ण कार्ययोजना अघि बढाएका छौं’, अध्यक्ष ओलीले अपानि–१ मा भन्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार