दलीय सहमतिबिना एमसीसी पास हुँदैन : सहमहामन्त्री परियार

कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको सहमति बिना पास हुन नसक्ने बताउनुभएको छ । सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसीसी नेपालका लगि ऋण नभइ अनुदान भएकाले सबै दलको सहमतिमा पास गर्नुपर्ने बताउनुभएको हो ।

एमसीसी सम्झौता गर्दाका बखत केही बुँदा नेपाल हित विपरित समावेश भएकाले भए त्यसलाई हटाएर अघि बढाउनुपर्ने उहाँको भनाइ छ । परियारले एमसीसीका कारण पाँच दलीय गठबन्धन नटुट्ने बताउनुभयो । ‘पाँच दल बीचको गठबन्धन टुट्ने कुनै सम्भावना छैन, आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने वा नरहनेबारे पार्टीमा छलफल भएको छैन’ उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनमा तालमेलका वारेमा पार्टीभित्र छलफल गरेर टुंगो लगाइनेछ, दलहरुबीच सबै ठाउँमा तालमेल नभएपनि केही ठाउँमा भने हुनसक्छ ।’

सहमहामन्त्री परियारले पार्टीको महाधिवेशन सकिने चरणमा रहेकाले समिति पूर्ण बनेपछि आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताउनुभयो । उहाँले महाधिवेशनले पार्टीमा निकै उत्साह थपेको बताउँदै आगामी निर्वाचनमा नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो । आगामी निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल हुने नहुने विषयमा पार्टीभित्र छलफल हुने उहाँले बताउनुभयो ।

परियारले महाधिवेशन मार्फत आएका परिवर्तनका कुराहरुलाई संस्थागत गरेर पार्टी अघि बढ्ने बताउँदै अब, पार्टीभित्र विचारको सैद्धान्तिक बहस गर्न आवश्यक रहेको बताउनुभयो । नेपाली कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले अबको ध्यान पार्टीको संगठन र स्थानीय तहको चुनावमा केन्द्रीत हुने बताउनुभयो । उहाँले पार्टी कार्यालय प्रविधिमैत्री बनाउनेबारे पनि छलफल भइरहेको बताउनुभयो। अध्यक्ष बरालले पार्टीको संगठन बलियो बनाउन आफ्नो टिमको सम्पूर्ण ध्यान केन्द्रित हुने स्पष्ट पार्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार