चितवन । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताउनुभएको छ । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक र आर्थिक रुपले देशको स्थिति गम्भिर अवस्थामा पुगिसकेको बताउनुभयो ।
देशको तीनवटै प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उहाँले वर्तमान संकटको समाधान लोकतान्त्रिक प्रणालीबाट नखोजिए गम्भीर संकट पैदा हुने भन्दै वर्तमान संकटको समाधान निर्वाचनबाटै हुने उहाँले बताउनुभयो ।
‘कुनै पनि क्षण देशले निर्वाचनतर्फ जान खोजेको हो कि भन्ने देख्छु’, उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा केहि गम्भीर नकारात्मक लक्षणहरू पनि देखापरेका छन् ।’ १४ महिनालाई धान्ने भनिएको वैदेशिक मुद्राको संचिती सात महिनामै अपुग देखिएको उहाँले बताउनुभयो ।
आयात तीव्र रुपमा बढेर व्यापार घाटा चुलिएको र रेमिट्यान्स घटेको भन्दै उहाँले अर्थतन्त्रका सबै इन्डिकेटर खराब भइसकेको उहाँले बताउनुभयो । ‘पर्याप्त वैदेशिक मुद्राको संचिती भएन भने अनेक सर्तमा ऋण लिनुपर्ने अवस्था आउँछ । त्यसका लागि धेरै मूल्य चुकाउनुपर्छ’, उहाँले भन्नुभयो ।
सरकारले भर्खर मात्रै ४० अर्ब ऋण लिन खोजेको भन्दै त्यसले मात्रै नपुग्ने उहाँले बताउनुभयो । ‘पाँच महिनामा पुंजिगत खर्च ६ प्रतिशत मात्रै छ । सरकारले राजस्व लिइरहेको छ । तर, खर्च गर्न सकेको छैन, जसका कारण बैंकहरूमा तरलताको अभाव भएको छ’, उहाँले भन्नुभयो ।
‘एमसिसीको विषयमा गठबन्धनभित्रै विमति’
मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी)को विषयमा सत्तारुढ गठबन्धनभित्रै विमति रहेको पाण्डेले बताउनुभयो । प्रधानमन्त्री र अन्य दलहरु बीच नै गम्भिर असहमति देखिन्छ । ‘यसले नेपालको राजनीतिक संकटलाई थप गहिराउने हो कि भन्ने अवस्था देखा पर्दैछ’, उहाँले भन्नुभयो ।
एमसीसीको विषयमा सत्तारुढ दलभित्रै असमझदारी रहेकाले सत्तारुढ दलले धारणा बनाएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताउनुभयो । एमसीसीको अन्योलताले वैदेशिक सहायताको विषयमा अमेरिकासँगको सम्बन्ध कमजोर हुन सक्ने पनि उहाँले बताउनुभयो । वर्तमान अवस्थाको समाधान बुद्धिमता ढंगले गर्नुपर्ने भएपनि सरकार त्यसतर्फ नलागेको उहाँको भनाइ छ । संकट समाधानका लागि एमालेले सहि ढंगले सहयोग गर्ने उहाँले बताउनुभयो । नागरिक खबरबाट