काठमाडौँ । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको पाइप विस्पोष्ट भएर दुई इन्जिनीयर मृत्युको घटनाको विषयमा छानविन गर्न सरकार समिति बनाएको छ । सोमबार भएको दुर्घटनामा इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाप्रति चासो व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी थिइन्।
निधन भएका प्राविधिक कर्मचारीप्रति श्रद्धाञ्जली प्रकट गर्दै सरकारले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। दुर्घटनामा थप एक कर्मचारी घाइते छन्।साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो।
प्रवर्द्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्दा दुर्घटना भएको हो। ऊर्जामन्त्री भुसालले दुई युवा र प्रतिभाशाली प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएकी छन्।मन्त्री भुसालले उनीरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गरेकी छन्। साहस ऊर्जाले दुर्घटनाको बारेमा आन्तरिक छानबिन भइरहेको र घाइतेको उपचार भइरहेको जनाएको छ । नागरिक खबरबाट