काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कैलालीको लम्कीमा प्रहरी नायब उपरीक्षक र जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सुरक्षा प्रबन्ध गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई उक्त निर्देशन दिनुभएको हो।
जानकी गाउँपालिका–काठमाडौँ सम्पर्क समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री खाँणले मजबुद सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। हाल अमरावतीमा प्रहरी सहायक निरीक्षक र लम्कीमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ छ।मन्त्री खाणले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताउनुभयो । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ।
टोलीले मन्त्री खाँणलाई बुझाएको ध्यानाकर्षण पत्रमा गत कात्तिक २३ गते टिकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै यही पुस २ गते जानकी गाउँपालिका–९ अमरावतीमा अर्जुन दासको हत्याको निष्पक्ष छानविन गरी दोषीलाई कानून बमोजिम कारबाहीको माग गरिएको छ। ध्यानाकर्षणपत्रमा कमजोर सुरक्षा निगरानीका कारण कैलालीमा आपराधिक घटना भएको उल्लेख छ। सेतोपाटीबाट