एमाले म्याग्दीको अध्यक्षमा केसी र सुवेदी तथा सचिवमा थापा मगर सहित तीन जनाको दावी

बेनी । नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन शुक्रबारदेखि बेनीमा सुरु हुँदैछ । जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको बिषयले चर्चा पाएको छ । विहिबार साँझ सम्म कसैले पनि औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छैनन् । औपचारिक रुपमा घोषणा  नगरेपनि आकांक्षी आआफ्नो दावीसहित माथिल्लो तहका नेताहरू तथा समकक्षीसमक्ष संगको छलफल र भेटघाटलाई तिब्रता दिएका छन् ।

वर्तमान जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले दुई कार्यकाल नेतृत्व गरिसक्नुभयो । एमालेको विद्यान अनुसार अध्यक्ष श्रेष्ठले नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ । जिल्ला अध्यक्षमा वर्तमान उपाध्यक्ष देबेन्द्र बहादुर केसी र सचिव बालकृष्ण सुवेदी आकाँक्षी देखिनुभएको छ । एमालेका एक नेताका अनुसार दुवै जनाले अध्यक्ष पदमा दावी गर्नुभएको छ । पार्टी भित्र नेतृत्व चयनको प्रयास भइरहेको ति नेताले जानकारी दिनुभयो ।

‘पार्टीको बैठक ,छलफल, प्रतिनिधि र माथिल्लो तहको नेतृत्व संगको भेटमा दुवै जनाले अध्यक्ष पदमा दावी नछोड्ने बताउँदै आउनुभएको छ ,’ ति नेताले भन्नुभयो । ति नेताका अनुसार दुवै नेताले सर्वसम्मत नभए निर्वाचनमा जाने बताउनुभएकाे छ। जिल्ला समन्वय समितिका प्रमुख केसी तत्कालिन भगवति गाबिसका अध्यक्ष बन्न शिक्षकको स्थायी जागीर छाडेर राजनितिमा होमिनुभएको थियो । सुवेदी विद्यार्थी ,युवा संगठन र शिक्षकको नेतृत्व गर्दै पार्टीको राजनितिमा आउनुभएको थियो ।

त्यसैगरी सचिवमा युवा नेता राजकुमार थापा मगर,प्रमोद श्रेष्ठ र सुरज केसीको चर्चा चलेको छ । युवा नेता थापा मगरले विहिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत सर्वसम्मत नेतृत्व चयनमा जोड दिनुभएको छ । युवा नेता थापा मगरले फेसबुकमा लेख्नुभएको छ , ‘केही मेरा शुभचिन्तक र मिडियाका साथिहरुले मेरो बिषयमा शुभेच्छा राख्नुभएको छ । मेरो आधिकारीक धारणा बन्दसत्र सुरु भएपछि मात्र राख्ने नै छु । मलाई विश्वास छ नेतृत्वले इतिहास ,योग्यता ,क्षमता र क्रियाशिलतालाई आधार मानेर सर्वसम्मत बनाउने नै छ । आजको आवश्यकता सर्वसम्मतको हो ,हामी बिचको एकताले नै विरोधिहरुलाई पराजित गर्न सकिन्छ ।’ युवा नेता थापा मगर ,श्रेष्ठ र केसी सचिवालय सदस्य हुनुहुन्छ । अध्यक्ष र सचिवमा अरुले पनि दावी गर्न सक्ने सम्भावना पनि छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको पौष २३ गते देखि सुरु हुने नवौँ जिल्ला अधिवेशनमा ५१० जना प्रतिनिधि छनौट भएका छन । अधिवेशनको पुर्व सन्ध्यामा बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष  श्रेष्ठले जिल्ला भरबाट ५१० जना प्रतिनिधि छनौट गरिएको जानकारी दिनुभयो ।

प्रतिनिधिहरु भुगोलबाट ३५० जना, जिल्ला कमिटिबाट ५८ जना, सल्लाहकारबाट १०, पालिका कमिटिबाट १२, जनसंगठनबाट ३०, पेशागतबाट १०, र विभागबाट १२ गरि ४२८ जना छनौट भएका छन । त्यस्तै बिधान अनुसार सो संख्याको ५ प्रतिशत मनोनित गर्दा हुन आउने २८ जना मनोनित गरि ५१० जना प्रतिनिधिले अधिवेशनमा भाग लिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरि जिल्ला कमिटि ९० सदस्यीय हुने उहाँले बताउनुभयो । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, र उपसचिव २ गरि पदाधिकारी ५, भूगोलबाट १२ महिला सहित ३१ जना, बेनी नगरपालिकाबाट ३ महिला सहित ८ जना, रघुगंगा, अन्नपूर्ण, मालिका र धवलागिरी गाउँपालिकाबाट २ महिला सहित ५ जना, मंगलाबाट १ महिला सहित ३ जना जिल्ला कमिटिमा निर्वाचित गरिने श्रेष्ठले बताउनुभयो ।

त्यस्तै दलितबाट २ महिला सहित ७ जना, मजदुरबाट १ महिला सहित २ जना, मुस्लिमबाट १ जना, अन्यबाट १ जना, जनजातीबाट ४ महिला सहित १३ जना, र खुल्लाबाट ९ महिला सहित २१ जना सदस्य निर्वाचित हुने ब्यबस्था रहेको छ ।पत्रकार भेटघाट कार्यक्रममा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल अगाडि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज भुपेन्द्र थापा, गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्मा, जिल्ला कमिटि उपाध्यक्ष देबेन्द्र कटुवाल, सचिव बालकृष्ण सुवेदी, उपसचिव देव घले, सचिवालय सदस्य एवं आर्थिक बिभाग प्रमुख प्रमोद श्रेष्ठ, प्रचार बिभाग प्रमुख सुरज केसी, सचिवालय सदस्य दिपक कार्की, राजकुमार थापा, बेनी नगर कमिटि अध्यक्ष नारायण जिसी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार