दाङ । श्रीमतीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा सल्यानमा एक जना पक्राउ परेका छन्। सिद्धकुमाख गाउँपालिका वडा नं. ५ माझखर्चकी ४१ वर्षीया रामकली परियारको हत्या गरेको आरोपमा श्रीमान ४२ वर्षीय लोकबहादुर परियार पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार मदिरा सेवनपछि लोकबहादुरले पुस १८ गते राति ९ बजेको समयमा श्रीमती रामकलीलाई टाउकोमा रड प्रहार गरी गम्भीर घाइते तुल्याएका थिए।गम्भीर अवस्थाकी रामकलीको सल्यानमा उपचार सम्भव नभएपछि छोरा हेमराजले राति नै आमालाई थप उपचार लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याएपछि पुस १९ गते बिहानमात्रै प्रहरीलाई खबर गरेका थिए।
हेमराजको सूचनापछि पुगेको प्रहरीले सोही दिन लोकबहादुरलाई पक्राउ गरेको थियो। डिएसपी खड्काका अनुसार रामकलीको उपचार कोहलपुरमा पनि सम्भव भएन। रड प्रहारबाट ब्रेन ह्यामरेजको अवस्थामा पुगेकी अचेत रामकलीको घर ल्याई पुर्याएलगत्तै मृत्यु भएको थियो। मदिराले मातेका लोकबहादुरले सामान्य विवादमा छोरा हेमराजमाथि पनि उक्त दिन आक्रमण गरेको डिएसपी खड्काले जानकारी दिनुभयो । प्रहरी थुनामा रहेका लोकबहादुरसँग घटनाबारे सोधपुछको क्रम चलिरहेको प्रहरीले जानकारी दिएको छ। सेतोपाटीबाट