वन कुखुरा मार्न जाँदा बन्दुकको छर्राले लागेर साथीको मृत्यु, छ जना पक्राउ

काठमाडौँ । स्याङ्जामा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। आँधिखोला गाउँपालिका वडा नम्बर १ कालिखर्क जंगलमा भरूवा बन्दुकको छर्राले लागेर सोही ठाउँ बस्ने २७ वर्षीय मनोज विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो।

उनको मृत्युपछि भागेका छ जना आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबारसम्म सबै जना आरोपितहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । आँधिखोला गाउँपालिका–१ बस्ने २७ वर्षीय भीमबहादुर सुनार (सूर्य), १८ वर्षीय सुनिल बिक, २४ वर्षीय रेवत पौडेल (दिनेश) र ३७ वर्षीय धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै २४ वर्षीय खुमनारायण अधिकारी र २८ वर्षीय साजन कामीलाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको हो । उनलाई गत शुक्रबार पक्राउ गरी शनिबार स्याङ्जा पुर्‍याइएको हो। प्रहरीका अनुसार उनीहरू सातै जना मंगलबार राति १० बजे कालिखर्क जंगलमा कुखुरा मार्न गएका थिए । उनीहरू त्यसैगरी पहिले पनि जाने गर्थे।

‘उनीहरू एउटै गाउँका हुन्। रमाइलो गर्ने अनि बेलुकीपख कुखुरा मार्न जाने योजना बनाएका रहेछन्,’ प्रहरी नायब उपरीक्षक अधिकारीले भन्नुभयो, ‘उनीहरूले भरूवा बन्दुक लिएर गएका थिए। त्यसैक्रममा बन्दुक अचानक पड्किएर विकको मृत्यु भएको भनेका छन्।’बन्दुक पड्किएर गोलीको छर्रा विकको नाइटो मुनी लागेको उनले बताए। यद्यपि बन्दुक कसले चलाएको थियो भन्ने खुलिइनसकेको उनले बताए।बन्दुकको छर्राले लागेर विकको मृत्यु भएपछि साथीहरू उनलाई त्यहीँ छाडेर भागेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो।

घटनाबारे ती साथीहरूले कसैलाई पनि जानकारी गराएनन्। तर भोलिपल्ट रातिसम्म पनि नफर्किएपछि आफन्तहरूले प्रहरीलाई खबर गरी विकको खोजी गरेको थियो। तर रात परेपछि उनी त्यो दिन पनि भेटेनन्। त्यसको भोलिपल्ट बिहीबार बिहान ७ बजे जंगलमा उनको शव फेला परेको थियो। शव फेला परेपछि प्रहरीले गाउँबाट मृतकका साथीहरू भागेको भन्ने खुलेपछि प्रहरीले उनीहरूको खोजी गरी नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट एउटा एक नाले भरूवा बन्दुक, दुई ग्राम बारूद, २४ थान सिसाको छर्रा र ३० बट्टा सलाइको बट्टा बरामद गरेको छ। उनीहरूमाथि कर्तव्य ज्यान मुद्धामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।आइतबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गर्न अनुमति लिने काम भइरहेको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार