मकवानपुर । लोपोन्मुख आदिवासी वनकरिया जातिका किशोरीहरूलाई नेतृत्व विकास र वकालत तालिम दिइएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४, हाँडीखोलास्थित वनकरिया टोलमा आयोजित ४ दिने तालिममा वनकरिया समुदायका २२ जना सहभागी थिए ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, काठमाडौंले आयोजना गरेको तालिममा क्यानडा सरकारको सहयोग रहेको थियो । कार्यक्रममा आदिवासी, आदिवासी महिला, नेतृत्व विकास, संस्थागत विकास, आईएलओ, आईएलओको धारा १६९, आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र (यूएनड्रीप), महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलनसम्बन्धी महासन्धि (सिड), जलवायु परिवर्तन लगायतको बिषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशोकान्ति भट्टचनले गरेकी थिइन् ।
कार्यक्रममा सहभागी किशोरीहरुले तालिम धेरै जानकारीमुलक रहेको भन्दै नेतृत्व विकाससँगै आफ्नो अधिकार प्राप्त गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा मृतक आमा–बुवाको स्मृतिमा सहयोगी हातहरुबाट प्राप्त ६० हजार रुपैंयाबाट वनकरिया वृद्धदेखि बालबालिकालाई जाडोको टोपी, पछ्यौरा, ट्रयाकसुट लगायतका कपडा हस्तान्तरण गरिएको थियो । मनहरी गाउँपालिका–४ का वडाध्यक्ष ध्रुब खड्का, वनकरिया महिला विकास संघकी अध्यक्ष सन्तमाया वनकरियाले कपडा हस्तान्तरण गरेका थिए । रातोपाटीबाट