नोबेल मेडिकल कलेजका सञ्चालक शर्माको विरोधमा विद्यार्थी

विराटनगर । अतिरिक्त शुल्क नतिर्ने अडानका साथ आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेजका विद्यार्थीले बिहीबार कलेज सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । दुई हप्ताभन्दा लामो समयदेखि आन्दोलनरत विद्यार्थीले मेडिकल कलेज परिसरमै सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् । विराटनगरको शुक्रबारे हाट चोकबाट सञ्चालक शर्माको पुत्लासहित नाराबाजी गर्दै मेडिकल कलेज पुगेका विद्यार्थीले कलेज परिसरमै पुगेर सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाएमात्रै पढाइ सुरू गर्ने निर्णय गरेपछि दुई हप्तादेखि सो कलेजमा अध्ययनरत विद्यार्थी चरणबद्ध आन्दोलन उत्रिएका छन् ।चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनले विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता जनाएपछि सो कलेजमा विद्यार्थीले दैनिकजसो आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क तिर्न कलेजले दबाब दिएपछि एमबीबीएस पढ्ने बिद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा करिब पाँच लाख रुपैयाँ बढी उक्त कलेजले मागेपछि अभिभावकसमेत आन्दोलनमा उत्रिएका छन् । एमबीबीएसमा भर्ना भएका तर अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीको पठनपाठन सो कलेजले रोकेको छ ।कलेजमा भर्ना भएका ९६ जना विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षाकोठामा राखेर पढाउन थालिएको छ । शिक्षा आयोगले तोकेको शुल्क बुझाउँदा पनि अन्य विद्यार्थी भने पढ्नबाट बञ्चित गरिएका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार