साउदीको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको उपचार र उद्धारका लागि श्रममन्त्रीको प्रयास

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन्।

शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस रानापीडाले छटपटाइरहेको तस्बिर र भिडियो प्रकाशित भएपछि आइतवार नेपाली दुतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली उनि रहेको स्थानमा गइ उनको अवस्थाबारे जानकारी लिएको छ। श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दुतावासको टोली बिरामी राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ।

नेपाली दुतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो। आठमध्ये एकजना नेपाल फर्किसकेका छन् भने अन्य ६ जना मंगलवार नेपाल फर्कनेछन्। रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो। तर, उनको पुलिस केस भएकोले एक्जीट भिषाको लागि समय लाग्ने नेपाली दुतावासले जनाएको छ।

उनि बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दुतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभयो । रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताउनुभयो। मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दुतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिनुभएको छ । nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार