सरकार एमालेविरुद्ध षड्यन्त्र गर्नमा केन्द्रित : बोहरा

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाउनुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको बताउनुभएको हो ।

राज्यका सबै अङ्गहरू प्रायः अस्तव्यस्त छन् । आम जनता महँगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिन सकेको छैन । खोपमा अपचलन भएका कुराहरू आइरहेका छन् । औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत नागरिकले राम्ररी पाउन सक्दैनन्,’ उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित छ ।’

उहाँले राजनीतिक तथा वैचारिक रूपमा अझ सजग तथा सक्रिय बन्नु जरुरी रहेको बताउँदै विरोधीहरूले फैलाएको भ्रमहरूलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद् गठन गरेको थियो । परिषद्को बैठक बसी शपथग्रहण गर्ने र तत्सम्बन्धी अरू कामहरू गर्नुपर्नेमा विभिन्न कारणवश अहिले बैठक बस्न र शपथग्रहण ग्रहण कार्यक्रम हुन नसक्ने अवस्था नरहेको पनि बोहराले स्पष्ट पार्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार