जनगणनाको तथ्यांकबारे टिकाटिप्पणी भएपछि विभागले भन्यो–जवाफ दिएर साध्य छैन

काठमाडौँ । तथ्यांक विभागले तथ्यांक संकलन सही र तथ्यपरक भएको दावी गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजामाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्यांक सही र तथ्यपरक भएको बताउनुभएको हो । तथ्यांकबारे वास्तविकता भन्दा बाहिर गएर अनावश्यक टिप्पणी गर्ने काम भएको उहाँको भनाइ छ ।

‘यो विषयमा जवाफ दिएर साध्य छैन । मलाई व्यक्तिगत रुपमा पनि मेरो गणना भएन भनेर धेरैले भन्नु भएको छ । तर बुझ्दा परिवारबाट भएको पाइएको छ’, उहाँले बिहीबार भन्नुभयो, ‘नबुझिकन भनेर टिकाटिप्पणी गरिदिँदा समस्या भएको छ ।’ उहाँले ठूलो स्केलमा देशभरको जनगणना गरिएकाले केही संख्या भने छुट्न सक्ने स्वीकार गर्नुभयो । तर, बाहिर भइरहेको टीकाटिप्पणीमा चाहिँ सत्यता नरहेको उहाँको भनाइ छ । उहाँले विदेशमा कार्यरतहरुको हकमा भारतसहित विश्वभरकै देशमा गएका नेपालीहरुको संख्या भएको स्पष्ट गर्नुभयो ।

‘विदेशमा गएका सबैको तथ्यांक हो । यसमा भारतपनि पर्छ’, उहाँले भन्नुभयो, ‘रोजगारी सिलसिला र पढ्न गएकाहरुको विवरण हो । स्थायी प्रकृतिले पीआर लिएर परिवारसहित विदेशमा बस्नेको भने गणना भएको छैन ।’ गणनाका क्रममा ‘अनुपस्थित विदेश’ भनेर सोधिएको प्रश्नमा आएका जवाफ नै विदेशिनेको तथ्यांक भएको विभागको भनाइ छ । लामिछानेले जनगणनामा विदेशबाट फर्किने पुरुषको संख्या धेरै देखिएको पनि बताउनुभयो ।

तथ्यांकमा कुनै अस्पष्टता नरहेको दाबी गर्दै उहाँले श्रम मन्त्रालयले तथ्यांकमा पनि विदेशिनेको संख्या १२–१२ लाख भन्दा बढी नरहेको बताउनुभयो । श्रम मन्त्रालयले पनि आफूहरुको डाटा स्वीकार गरेको स्पष्ट गर्नुभयो । उहाँले अबको २–३ महिनाभित्रै छुटेकाहरूको हकमा गणनापछिको सर्भेक्षण गरिने बताउनुभयो । कति प्रतिशत गणना छुट्यो भनेर त्यसमा देखिने उहाँले उल्लेख गर्नुभयो । जनसंख्याको सिद्धान्तअनुसार कति प्रतिशत ‘इरर’ आयो त्यसलाई समटिने उहाँको भनाइ छ ।

विदेशका कतिपय मुलुकमा छुटेका जनसंख्यालाई ‘एडजस्ट’ गर्ने चलन रहेको उल्लेख गर्दै उहाँले नेपालमा भने त्यस्तो नरहेको बताउनुभयो । ‘यति प्रतिशत अन्डर काउन्ट भयो यति प्रतिशत ओभर काउन्ट भयो भनेर हामी निकाल्छौँ’, उहाँले भन्नुभयो, ‘२–३ महिनाभित्र हामी सर्भे गरिसक्र्छौँ ।’विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार