काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्याले सामुदायिक अस्पतालहरु निजीभन्दा अब्बल हुनुपर्ने बताउनुभएको छ । उहाँले त्रि.वि. शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मेसिन प्रदान गर्नेक्रममा यस्तो बताउनुभएको हो।
अस्पतालमा पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा।डा।सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक प्रदान गर्नुभएको छ । त्यसक्रममा उहाँले काठमाडौँमा धेरै निजी अस्पतालहरु भएको भन्दै ती अस्पतालहरुले भन्दा धेरै राम्रो सेवा सुविधा दिएर विरामीको मन जित्न सामुदायिक अस्पतालहरु अब्बल हुनु पर्ने बताउनुभयो ।
प्रमुख शाक्यले भन्नुभयो, ‘सामुदायिक अस्पतालको प्राविधिक क्षमता विकास गरेर र उपचारका लागि विरामीमा विश्वास बढाएर निजी स्वास्थ्य संस्थाभन्दा अब्बल बन्नुपर्छ । शिक्षण अस्पताल त्यही मार्गमा जाने मैले विश्वास लिएको छु ।’ प्रमुख शाक्यले उपचार नपाएर मानवीय क्षति नहोस् भनेर महानगरले विभिन्न सामुदाय अस्पतालहरुलाई सहयोग गर्दै आएको बताउनुभयो ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि सरकारी र सामुदायिक अस्पताललाई भेन्टिलेटर, आइसोलेसन निर्माणमा सहयोग, विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्ने सरकारी र सामुदायिक अस्पतालाई विभिन्न किसिमको सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले आफूहरुले काम गर्दा महानगरबासीसँगै सबै देशबासीको स्वास्थ्य उपचारलाई ध्यान दिएको दाबी गर्नुभयो ।
सिटी स्क्यान मेसिन खरिद गर्न महानगर र अस्पतालबीच २०७७ मंसिर ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार अत्याधुनिक सिटी क्यान मेसिन खरिदका लागि महानगरले उपलब्ध गराएको आर्थिक अनुदानबाट अस्पतालले मेसिन खरिद गरेर पुस ११ गते जडान सम्पन्न गरेको हो । फ्लास टेक्नोलोजीमा आधारित मेसिन १ सय २८ स्लाइसको छ । स्पेसिफिकेसनका आधारमा सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य ६ करोड १७ लाख १६ हजार ५५७ रुपैयाँ परेको छ ।
सम्झौताको समयमा यसको लागत करीव ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो । आधुनिक चिकित्सा विज्ञानमा सिटी स्क्यान नभइ नहुने हतियार हो । दुर्घटना परेका व्यक्ति, मस्तिष्कघात भएका व्यक्तिको परीक्षणका लागि यो मेसिन नभइ हुँदै हुँदैन । अस्पताल विगत २ बर्षदेखि सिटी स्क्यानविहिन अवस्थामा रहेको थियो । अस्पतालकाअनुसार अत्याधुनिक यो मेसिनले व्यक्तिको समस्यालाई स्वचालित रुपमा पहिचान गरेर रिपोर्ट दिन्छ । नागरिक खबरबाट