सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले नेपाललाई हेप्न थाले : पोखरेल

सुनसरी । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले हेप्न थालेको टिप्पणी गर्नुभएको छ । आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले विदेशीको इसारामा गठबन्धन सरकार चल्न थालेकोसमेत बताउनुभयो ।

अमेरिकाले दिने सहयोगको सम्बन्धमा गोप्य रूपमा भित्री सहमति गरेर अब केही दिनमै पास गर्छौ भन्ने तर जनतालाई त्यस्तो हैन देशको अहितमा हामी छैनौं भन्ने दोहोरो चरित्र सरकारले देखाएको आरोपसमेत लगाउनुभयो। ‘गोप्य पत्रमा हामी जसरी नि पास गछौं, एक दुई महिना पर्खिदिनु पर्‍यो’ भन्दै हस्ताक्षर गर्नुले बाहिरी देशले नेपाललाई हेप्न थालेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेससका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रले सरकार देशप्रति कुनै संवेदनशील नरहेको पोखरेलको भनाइ छ । ‘सरकार यतिबेला काठ काट्ने आरा जस्तो उता तान्दा नि काटिन्छ, यता काट्दा पनि काटिन्छ जस्तै भएको छ । प्रचण्डको ढाडमा टेकेर टाउकामा हान्ने र अन्तरविरोधमा खेल्नेबानीका कारण आज यस्तो भयो,’ उहाँले भन्नुभयो, ‘अहिले नै हामी बोलेर हिँड्दैनौ, संसदमा लेऊ जे गछौं हामी गर्छौं।’

पाँचदलीय गठबन्धन सरकारमा छलफल गरेर एमसीसी संसदमा टेबुल गर्न उनले सरकारलाई चुनौती पनि दिनुभयो । एमसीसीबारे एमालेको धारणा आउनुभन्दा गठबन्धन सरकारको धारणा के हो प्रष्ट पार्न पोखरेलले आग्रह गर्नुभयो। एमाले उपाध्यक्ष पोखरेलले आजै इटहरी उपमहानगरपालिकाले निर्माण गर्न लागेको प्रशासनिक भवनको समेत शिलान्यास गर्नुभएको छ । नौ करोडभन्दा बढी लागत अनुमान गरिएको भवन २०८० सालसम्म बनिसक्ने छ । उहाँले इटहरी–१७ लविपुरमा बनेको पुलको समेत उद्घाटन गर्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार