
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताउनुभएको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावको बारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताउनुभएको हो । कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको छन् ।
यसपछि उत्पन्न राजनीतिक अवस्थाको बारेमा छलफल गर्न अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ । तर, यसबारे एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको नेता तामाङले बताउनुभएको हो । प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता हुने सक्ने नेता तामाङको विश्वास छ ।
साथै दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्न आदेश दिएका सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने उहाँले बताउनुभयो।‘सांसदहरूको हस्ताक्षर संकलन गरेको भए पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने होइन,’ नेता तामाङले भन्नुभयो, महाअभियोगको प्रस्ताव ल्याउँदैनौँ ।’ नागरिक खबरबाट