सिङ्गाका ज्येष्ठनागरिकलाई न्यानो कपडा वितरण तथा मानव बेचबिखन एवं लैङ्गिक हिंसाविरुद्धको तालिम सञ्चालन (तस्बिरहरु)

म्याग्दी ।‘सभ्य नागरिकको पहिचान, ज्येष्ठनागरिकको सम्मान’ भन्ने मूल नारासहित आज (सोमवार) ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिकाद्वारा ४ नम्बर वडा सिङ्गामा एक कार्यक्रमको आयोजना गरी २० जनालाई कपडा वितरण गरिएको हो ।


चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ज्येष्ठनागरिक सम्मान कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर न्यानो कपडा (फाइबर) सिरक वितरण गरिएको बेनी नगरपालिकाले जनाएको छ । नगरपालिकाको आफ्नै बजेटबाट नगरका विभिन्न वडामा रहेका अति विपन्न र अपाङ्गता भएका ८० वर्षभन्दा माथिका ज्येष्ठनागरिकलाई वडामै पुगेर जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ ।

ज्येष्ठनागरिकलाई बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र सिङ्गाका वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले न्यानो कपडा अर्थात् फाइबर सिरक वितरण गर्नुभएको थियो । फाइबर सिरक वितरण गर्दै उपप्रमुख बरुवालले नगरपालिकामार्फत सानो भए पनि सहयोग गर्ने उद्देश्यले ज्येष्ठनागरिकको सम्मानस्वरुप उनीहरुलाई लक्षित गरेर जाडोका लागि न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।

सिङ्गाका वडाध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रमको सञ्चालन बेनी नगरपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत सहायक महिला विकास निरीक्षकद्वय डमसरा पुन र तुलसी पाईजाले गर्नुभएको थियो । बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा बेनपाको ८ वटा वडामा प्रति वडा २० जनाका दरले अति विपन्न र अपाङ्गता भएका ज्येष्ठनागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअनुुसार कपडा वितरण गरेको जानकारी दिएको छ ।

बेनीको ७ र ८ नम्बर वडामा यसअघि ज्येष्ठ नागरिकसम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ भने यसभन्दा अगाडि बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, पुलाचौर, घतान र पात्लेखेत वडाका ज्येष्ठ नागरिकहरुलाई जाडोका लागि न्यानो कपडा फाइबर सिरक वितरण गरिसकिएको छ ।

यसैबीच बेनी नगरपालिकाको आयोजनामा सिङ्गामै आज मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्धको तालिम पनि सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आर्थिक परनिर्भरताकै कारण लैङ्गिक हिंसा बढ्दै गैरहेको बताउनुभयो । उहाँले २१औं शताब्दीमा आएर पनि लिङ्गका हिसाबले हिंसा भैरहेको भन्दै यसलाई न्युनीकरण गर्न व्यक्ति, परिवार र समुदाय लाग्नुपर्नेमा जोड दिनुभयो ।

तालिममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) वीरेन्द्रराज गुरुङले मानव बेचबिखन र ओसारपोसार तथा लैङ्गिक हिंसासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । सिङ्गाका वडाध्यक्ष पौडेलको अध्यक्षता, उपप्रमुख बरुवालको प्रमुख आतिथ्य, सहायक महिला विकास निरीक्षकद्वय पुन र पाईजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिङ्गाको महिला सहकारी, आमा समूह र विद्यार्थीले सहभागिता जनाएका थिएभने सहभागी टिकादेवी रेग्मी र पवित्रा किसानले अनुभव सुनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार