कुशल भुर्तेलको शतकमा फिलिपिन्सलाई विशाल लक्ष्य

मस्कट । युवा ओपनर कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई विशाल विजयी लक्ष्य दिएको छ । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ २ सय १८ रन बनायो ।

ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेल्नुभयो। कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गर्नुभएको थियो।

दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्का सहित ८३ रनमा आउट हुनुभयो । गुरभुपेन्द्रर चोहानले १९ औं ओभरको पाँचौं बलमा बोल्ड गरेपछि दीपेन्द्र शतकबाट चुक्नुभयो । तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ७१ रनको शतकीय साझेदारी गर्नुभयो। जुन नेपाली टि२० आईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

कुशल नेपालबाट टि२० आईमा शतक बनाउने तेस्रो खेलाडी हुनुहुन्छ। यसअघि नेपालबाट २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रनको शतकीय इनिङ खेल्नुभएको थियो । पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रनको अविजित शतकीय इनिङ खेल्दै टि २० आईमा शतक प्रहार गर्ने नेपालबाट पहिलो खेलाडी बन्नुभएको थियो ।

ओपनर आसिफ शेखले आफूले सामना गरेको पहिलो बलमै (गोल्डेन डक) हुनुभयो । तीव्र गतिका बलर ड्यानियल स्मिथले दोस्रो ओभरको पहिलो बलमै आसिफलाई एलबीडब्लू आउट गर्दै पेभेलिएन फर्काउनुभयो।

कुशल मल्ल १० बलमा २ चौकासहित १२ रनमा आउट हुनुभयो । पाँचौं ओभरको दोस्रो बलमा कुशल मल्ललाई मिग्गी पोडोस्कीले मुजाममी शहजादबाट क्याच गराउनुभयो । लोकेश बम ६ रनमा अविजित रहनुभयो । फिलिपिन्सका ड्यानियल स्मिथ, पोडोस्की र चोहानले १÷१ विकेट लिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार