ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा अग्रवाललाई शनिबार पक्राउ गरेको हो।

उनलाई हिरासतमा राखी थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिनुभयो।अग्रवालविरूद्ध सञ्जय अधिकारीले ६ महिनाअघि चेक बाउन्सको जाहेरी दिएका थिए। आफूलाई दिएको पचास लाखको चेक बाउन्स भएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन्।‘हामी थप अनुसन्धान गर्दैछौं,’ एसएसपी गिरीले भन्नुभयो।

सञ्चालक अग्रवाल गत पुसमा कारोबार छोडेर सपरिवार भारत गएका थिए। उनको परिवार नै सम्पर्कविहीन भएपछि करोडौं ऋण लगानी गरेका विभिन्न बैंकले ग्रिनलाइनमा ताला लगाएका छन्।पुस २२ गते सम्पर्कविहीन भएका उनीहरू माघ २७ गते काठमाडौं आएका थिए। काठमाडौं फर्किएपछि अग्रवालले कारोबार मिलाउने बताएका थिए।

ब्युरो स्रोतका अनुसार इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनमा २८ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसको धितोमा ग्रीनलाइनको स्टक मदिरा र ज्ञानेश्वरको घर धितोमा राखेको भेटिएको छ।एभरेष्ट बैंकले ग्रीनलाइनमा २२ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसबापत् ज्ञानेश्वरकै घर, सुरज अपार्टमेन्टको फ्ल्याट धितोमा राखेको छ।

मेगा बैंकले ग्रीनलाइनमा २३ करोड ऋण दिएको भेटिएको छ। त्यसको धितो ग्रीनलाइनको स्टक मदिरा र कालिमाटीको २२ आना जग्गा धितो राखिएको छ।ग्लोबल आइएमई बैंकले ग्रीनलाइनमा साढे ७ करोड ऋण दिएको छ। त्यसबापत् ग्रीनलाइनका सञ्चालकले ज्ञानेश्वरको साढे १३ आना जग्गा धितो राखेका थिए। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार