पर्यटनमा सघाइदिन बेलायती राजदुतसँग मुख्यमन्त्रीको आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पोखरेलले गण्डकीको विकासको प्रमुख आधार पर्यटन भएकोले यसको विकास अपरिहार्य रहेको बताउनुभयो ।

बेलायतले नेपालको विकासमा धेरै पहिलेदेखि सहयोग गर्दै आएकोमा पोखरेलले प्रशंसा र धन्यवाद दिनुभयो । उहाँले गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवर्द्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकास जस्ता क्षेत्रमा सहयोग गरेको उल्लेख गर्नुभयो । जलवायु र पर्यटनमा थप सहयोग गर्न पोखरेलको आग्रह छ ।

नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध कायम भएको थियो । त्यसपछि नेपाली युवाहरु बेलायती सेनामा भर्ती भएर विभिन्न देश पुगेका छन् । बेलायती राजदूत निकोलाले जलवायु परिवर्तन अनुकुलन र पर्यटन प्रवर्द्धनमा बेलायतको प्रमुख चाँसो रहेको बताउनुभयो । उहाँ सोमबार बिहान साइक्लिङ गरेर पोखरा घुम्नुभएको थिए । ‘पोखरा सुन्दर छ ।

यसको व्यवस्थित विकास अझै आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘त्यसमा बेलायतको तर्फबाट आवश्यक सहयोगका लागि तत्पर छु ।’ दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न दुवै सरकारले पहल गर्नुपर्ने उहाँको जोड छ । संघीय शासन प्रणाली लागू भएपछिको अवस्था र प्रदेश सरकारको अनुभवका बारेमा उहाँले जिज्ञासा राख्नुभएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार