कलाकार जयनन्द लामाको निधन

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँ अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको थियो ।महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार उहाँ बैठकमा सहभागी हुन भन्दै मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध जानुभएको थियो ।

आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला पर्नुभएका थियो । डिएसपी पाण्डेले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ । लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशील हुनुहुन्थ्यो ।

उहाँले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो। पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनुभएको थियो । उहाँका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उहाँले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो।

विभिन्न विद्यालयमा उहाँ सङ्गीत गुरुका रूपमा क्रियाशिल हुनुहुन्थ्यो । प्रहरीले लामाको शव परीक्षणका लागि दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज लगेको छ । शव परीक्षणपछि उहाँकै निवासमा श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लामाको परिवारले जानकारी दिएको छ । उहाँका श्रीमती र दुई छोरा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार