गलेश्वरधाममा भक्तजनको घुइँचो (फोटो फिचर)

म्याग्दी । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय लगायत जिल्लाभरका शिवालय मन्दीरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाउने चलन रहेको छ ।


वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालयमा पूजा–आराधना गरिरहेका छन् । विहानैदेखि म्याग्दी, पर्वत, बागलुङ , कास्की लगायतका जिल्लाबाट आएका भक्तजनहरुलाई लाइनमा बसेर सहज रुपमा पूजा र दर्शन गर्ने प्रवन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, आज गलेश्वर शिवालयमा ३० हजार बढी भक्तजनको आगमन हुने अनुमान गरिएको छ ।


पूजा र दर्शनलाई सहज बनाउन विभिन्न उपसमिति संगै सुरक्षाकर्मी र स्वयमसेवक परिचालन भएर पूजाआजा र दर्शन गर्नेहरुलाई सहज बनाइएको रेग्मीले बताउनुभयो । कालीगण्डकी नदीको किनारमा ९ रोपनी क्षेत्रफलको एउटै विशाल चक्रशिलामा अवस्थित गलेश्वरधाममा एक सय ८ शिवलिंग स्थापना र कालीगण्डकीको पानीलाई ल्याएर स्नान गर्ने सुविधा भएपछि भक्तजनहरु बढ्दै गएका छन् । कालीगण्डकी नदीको पानीमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरेमा मनोकाँक्षा पुरा हुने मान्यता रहेको छ ।

दिनमा शिवालयको दर्शन संगै शिवरात्रिको रातमा महावक्ति समेत बाल्ने भएकाले आज विहानदेखि भोली विहानसम्म नै भक्तजनहरुको चहलपहल हुने कोषका उपाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, कोरोना महामारीको कारण विगत दुई बर्षयता आज सबैभन्दा धेरै भक्तजनहरु आएका छन् ।

सतिदेवीको गलापतन भएको मान्यता रहेको गलेश्वर शिवालयमा शिवरात्रि, बालाचर्तुर्शी, साउने सोमबार लगायतमा विशेष पूजा–आरधाना हुँदै आएको छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार