सुमन लामाले छाडे नेपाल पुलिस क्लब

काठमाडौँ । फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाड्नुभएको छ । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले सहिद स्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताउनुभयो ।

‘क्लबमा पाँच वर्ष बिताएँ । राम्रो भयो । अब भने विभाग बाहिरबाट खेल्ने निर्णय गरे,’ २६ वर्षीय सुमनले भन्नुभयो । ०७३ सालबाट पुलिस जागिरे बन्नुभएका सुमनले यसअघि ०७० सालदेखि नै नेपाल पुलिसबाट फुटबल खेल्दै आउनुभएको थियो ।

फागुन दोस्रो साता सम्पन्न शीर्ष डिभिजन लिगमा चार गोल गर्दै मैदानमा ९३१ मिनेट (इन्जुरी समयबाहेक) बिताएका सुमन लिग जारी रहँदा विवाह बन्धनमा समेत बाँधिनुभएको थियो । पुलिस छाडेलगत्तै उहाँलाई मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीलगायत टोलीले मोफसल प्रतियोगिता खेल्न प्रस्ताव गरे पनि केही समय विश्राम लिएर बस्ने सोच बनाएका बताउनुभएको छ ।

दोस्रो संस्करणको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल)का लागि भने सुमन साविक विजेता काठमाडौँ रेजर्समा खरिद भएका छन् । अक्सनमा बिक्री नभएका ए श्रेणीका सुमनलाई काठमाडौँले विस लिष्टमा खरिद गरेको हो । पहिलो संस्करणमा भने सुमनले बुटवल लुम्बिनीको प्रतिनिधित्व गर्नुभएको थियो । सुमनले राष्ट्रिय टोलीबाट भने २२ क्याप जित्नुभएको छ । सन् २०१६ मा सुमनले बंगबन्धु गोल्डकपमा श्रीलंकाविरुद्ध खेल्दै डेब्यु गर्नुभएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार