म्याग्दीमा विश्व पानी दिवस मनाइयो (फोटो फिचर)

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा हिजो (मङ्गलबार) विश्व पानी दिवस मनाइएको छ । राम–बिमला फाउण्डेशन बेनी, म्याग्दीको आयोजना र डिभिजन वन कार्यालयको संयोजनमा एक कार्यक्रम गरी विश्व पानी दिवस–२०७८ मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले पानी र जीवन सँगसँगै रहेको बताउनुभयो । उहाँले पछिल्लो समय पानीका स्रोतहरु नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्ने बताउँदै पानीको उपयोग गर्ने उपभोक्ता, सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिनुभयो । मलेसियामा नेपालबाट केही प्रतिशत पानी निर्यात हुँदै आइरहेकाले यसलाई बढाउनुपर्ने उहाँको भनाइ छ ।

जिल्ला न्यायाधीश पौडेलले हाम्रो देश नेपालमा जे स्रोत उपलब्ध छ त्यसलाई सही सदुपयोग गर्नुपर्ने भन्दै पानीको उद्योग सञ्चालन गर्न सकिने भएको हुँदा उपलब्ध स्रोतको बहुउपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशका केही देशमा मात्रै निर्यात हुने नेपालको पानीलाई अब विश्व बजारमा पु¥याउन आवश्यक रहेको धारण व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले पानीका स्रोतको उचित तरिकाले संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले धौलागिरि र अन्नपूर्ण हिमालबाट बग्ने पानीलाई शुद्दीकरण गरेर बिक्री, वितरण गर्न सकेको खण्डमा धेरै आम्दानी गर्न सकिनेमा जोड दिनुभयो । राम–बिमला फाउण्डेशनका अध्यक्ष बिमला गौचनले खानेपानी र वन एक अर्काका अन्तर्सम्बन्धित भएकाले पानीको स्रोतलाई बचाउनुपर्ने बताउनुभयो ।

उहाँले जीवन जीउन र पानीविना केही पनि गर्न नसकिने हुँदा सबै प्राणीलाई पानीको आवश्यकता रहेकाले पानीको संरक्षण गर्नुपर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालय म्याग्दीका निमित्त डिभिजन वन अधिकृत मनोज रानाभाटले विश्व पानी दिवसको विषयमा आधारित रहेर आफ्नो प्रस्तुतीसहित सहजीकरण गर्नुभएको थियो । कार्यक्रम राम–बिमला फाउण्डेशनका अध्यक्ष गौचनको अध्यक्षता र डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा अझै खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ । संविधानको मौलिक हकको रूपमा स्वच्छ खानेपानीको हक लेखिएको भए पनि कार्यान्वयन हुन नसकेकोमा जनगुनासो बढ्दो सुनिन्छ । हरेक वर्ष यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ तय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार