बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्वर ३ पिप्ले स्थित पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम र चिमखोला लगायतका जनतालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरेको हो ।
विश्व क्षयरोग दिवसको अवसरमा पिप्ले सुरु भएको ल्याव सेवाको उद्घाटन गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गर्नुभयो । पिप्लेमा सुरु गरिएको ल्याव सेवाबाट रगत, पिसाव, खकार कोरोना एन्टिजेन, एसआईभी, हेपाटाइटिस लगायत सबै चेकजाच हुने डाक्टर सन्तोषप्रसाद बोहराले बताउनुभयो । थाईराईडबाहेक रगत र पिसावबाट थाहा पाउने सबै प्रकारका रोगहरु पहिचान गर्न सकिने बताउनुभयो । ल्याव सेवा प्रभावकारी रुपमा संचालन गर्न जनशक्ति पनि राखिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाले आठ वटै वडामा १६ शाखाहरुमार्फत आधारभूत स्वास्थ्य उपचार दिएको बताउनुभयो । पिप्लेसंगै पाखापानीमा ल्याव सेवा यसै बर्षमा सुचारु गर्ने गरी आवश्यक सामान र जनशक्ति ब्यवस्थापन गरिसकेको समेत जानकारी दिनुभयो । पिप्लेमा अस्पताल बनाउनका लागि केन्द्र र प्रदेश सरकारसंग माग गर्ने तयारी भएको बताउनुभयो । उहाँले ल्यावसेवा संगसंगै पिप्लेमा एक्सरे सेवा संचालन गर्नका लागि भवन निर्माण भईरहेको बताउनुभयाे।
गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले स्वास्थ्य, शिक्षा खानेपानी लगायतका जनताका अतिआवश्यक सेवाहरुलाई मध्यनजर गरेर सबै वडामा योजनाबद्ध सेवाहरु विस्तार भईरहेको बताउनुभयो ।त्यस्तै प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले गाउँपालिकाको आर्थिक क्षमताअनुसार गाउँपालिकाभित्र स्वास्थ्य सेवाहरु थप गरीरहेको बताउनुभयो ।
गाउँपालिकाभित्र थप भएको सेवाहरुलाई जनतामैत्री बनाउन जनप्रतिनिधि, कर्मचारी, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, लगायत सामाजिक ब्यक्तित्वले प्रचारप्रसार र एकअर्कालाई जानकारी गराएर ल्याव सेवा प्रभावकारी रुपमा संचालन गराउनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा रघुगंगा मावि पिप्लेका प्रअ रमेशसिङ ठकुरीले गाउँमा थपिएको स्वास्थ्य सेवाहरु आर्थिक रुपमा कमजोर भएका परिवारलाई राहत पुग्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पिप्ले स्वास्थ्य चौकीका प्रमुख शिवप्रसाद पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा डाक्टर बोहरा, गाउँपालिका स्वास्थ्य शाखा संयोजक टिका शाही, नर्स, स्वास्थ्य स्वयमसेवीका लगायतको उपस्थित रहेको थियो ।