गलेश्वरमा साउनको पहिलो सोमबार दुई लाख नौ हजार बढी भेटी संकलन

गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार भक्तजनबाट दुई लाख नौ हजार ८४० रुपैयाँ भेटी संकलन भएको छ । बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार चढाइएको भेटी मंगलबार बिहान सरोकारवाला निकायको उपस्थितिमा मन्दिर परिसरमै गणना गरी सार्वजनिक गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव तेजेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

कोषका कोषाध्यक्ष कुमारी रोकाका अनुसार संकलित रकममध्ये भक्तजनले चढाएको भेटीबाट एक लाख ९६ हजार ५४९ रुपैयाँ तथा रसिदमार्फत १३ हजार २९१ रुपैयाँ प्राप्त भएको हो । मन्दिरमा संकलित भेटीको मुचुल्का तयार गरी प्रहरीको सुरक्षामा राखिएको चाबी प्रहरी चौकीबाट ल्याई कोषका पदाधिकारी, कर्मचारी, गलेश्वर आमा समूह, प्रहरी तथा स्थानीयवासीको उपस्थितिमा रकम गणना गरेर सार्वजनिक गरिएको थियो । दान संकलनका क्रममा पछि फेला परेका छिटफुट भेटीहरू प्रत्येक महिनाको १५ गते सार्वजनिक गर्ने व्यवस्था रहेको छ ।

यस वर्ष साउन महिनामा चार वटा सोमबार परेकाले पहिलो सोमबार गलेश्वरधाममा भक्तजनको आगमन अपेक्षाकृत कम रहेता पनि आगामी सोमबारहरूमा भने भक्तजनको उपस्थिति उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

कोषका उपाध्यक्ष बमबहादुर पुनले यस वर्ष साउन महिनामा चार वटा सोमबार परेको बताउँदै प्रत्येक सोमबार संकलित भेटी मंगलबार सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले धान रोपाइँ तथा कृषि कार्यको व्यस्तताका कारण गत वर्षको तुलनामा यस वर्ष पहिलो सोमबार दर्शनार्थीको संख्या केही कम भएको र त्यसको प्रभाव भेटी संकलनमा समेत परेको उल्लेख गर्नुभयो ।

कालीगण्डकी नदी किनारमा अवस्थित गलेश्वरधाम नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चट्टानमाथि रहेको प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तर–पूर्वी कोणमा रहेको मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान रहेको धार्मिक विश्वास छ । गलेश्वरधाममा दर्शन गरे मनोकामना पूरा हुने जनविश्वासका कारण मुक्तिनाथ जाने तथा फर्किने हजारौं भक्तजनले यहाँ दर्शन गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार