
म्याग्दी । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका तथा १९ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ४५ वर्षीय गुनबहादुर पुर्जालाई शुक्रबार राति करिब १२ः३० बजे पक्राउ गरिएको हो ।
भुलबहादुर तिलिजाको जाहेरीका आधारमा दर्ता भएको कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार म्याग्दीमा रहेका पुर्जा तत्कालीन माओवादी द्वन्द्वकालीन आक्रमणका क्रममा कारागारबाट फरार भएका थिए । जिल्ला अदालत म्याग्दीको फैसलाअनुसार उनलाई २० वर्ष कैद सजाय सुनाइएको थियो । हालसम्म उनले १९ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
फरार प्रतिवादी पुर्जा दग्नामस्थित आफ्नै वडाबाट करिब पाँच किलोमिटर टाढा लेकमा रहेको गोठमा लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका पुर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।





































