यसपटकको बजेट सबैको अपनत्व हुने गरी सार्वजनिक गर्छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि सुझाब लिने कामलाई तीव्रता दिनुभएको छ। बजेटमा समेट्नु पर्ने विषयबस्तुबारे बिहीबार अर्थमन्त्री शर्माले नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष एवं प्रतिनिधिहरुसँग सुझाव माग्नुभएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष रामचन्द्र संघाई, उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारी एवं चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालसहितको टिमसँग अर्थमन्त्री शर्माले सुझाव लिनुभएको हो । छलफलमा मन्त्री शर्माले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार आफ्नो जिम्मेवारी पूरा गर्ने दिशामा अघि बढिरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर बजेट निर्माण थालेको र यो सरकारलाई जनताको नजरमा अहिलेसम्मकै सफल बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको दाबी गर्नुभयो ।

‘मैले बजेट निर्माण थाल्नुअघि प्रधानमन्त्रीज्यूसँग छलफल गरेको थिएँ । त्यसक्रममा तपाईं (प्रधानमन्त्री)को नेतृत्व लिएर बजेट बनाउने हो । यो सरकारलाई अहिलेसम्मकै सफल र जनताको नजरमाा लोकप्रिय हुने हिसाबले बजेट बन्छ, कुनै चिन्ता लिनु पर्दैन भनेको छु । उहाँले पनि ठीक छ, तपाईं अघि बढ्नुस् भनेपछि बजेट निर्माण प्रकृया सुरु गरिएको हो’ उहाँले भन्नुभयो ।

बजेटमा व्यवसायीसहित दूरदराजका सर्वसाधारणको पनि कुरा सुनिने उहाँको भनाइ छ । ‘अहिले तपाईंहरु (निजी क्षेत्र) सँग सुझाव लिएको छु । केही दिनमै कर्णालीदेखि झापासम्मका नागरिकको पनि सुझाव लिन्छौं । यसपटकको बजेट सबैलाई अपनत्व हुने गरी सार्वजनिक गर्छौं’ मन्त्री शर्माले भन्नुभयो ।शोधानान्तर घाटा, तरलता अभाव र रेमिट्यान्समा भएको कमीलाई सरकारले नियमन गर्न खोजेपनि बाह्य कारणाले गर्दा अप्ठ्यारो परेको उहाँले बताउनुभयो ।

उहाँले राजनीतिज्ञ, कर्मचारी, व्यवसायी र आमउपभोक्ताले देशको हित सोच्दा आफ्नो स्वार्थ हेर्न नहुने बताउनुभयो । व्यवसायीको समस्या अर्थ मन्त्रालयले हल गर्ने भन्दै उहाँले जुनसुकै समस्या भए पनि आफूलाई भन्न आह्वान गर्नुभयो ।‘निजी क्षेत्रको समस्याको संरक्षकत्व गर्ने ठाउँ यहीं हो । यो भन्दा अरु ठाउँ नै छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले आफ्नो स्वार्थलाई अलि पर राखेर देशलाई फाइदा हुने कुरा लिएर आउन म आग्रह गर्छु ।’

उहाँले अर्थतन्त्र र व्यवसायीक क्षेत्रका बारेमा चिन्ता प्रकट गर्नु सकारात्मक भएको भन्दै यसमा राजनीतिक स्वार्थ भने नराख्न सुझाव दिनुभयो । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले अल्पकालीन, मध्यकालीन र दीर्घकालिन सुझाव पेश गर्नुभयो । उहाँले अहिले अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमता भन्दा बाहिरको विषय भएकाले नियन्त्रण गर्न कठिनाइ भएको उल्लेख गर्नुभयो ।

उद्योग परिसंघका अध्यक्ष अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हाँसिल गर्ने लक्ष्य राखेर बजेट निर्माण हुनुपर्ने सुझाव दिनुभयो । उहाँले ऊर्जामा निजी क्षेत्रको ५० प्रतिशत योगदान रहेको भन्दै पीपीए रोक्ने काम ठीक नभएको धारणा राख्नुभयो । कार्यक्रममा चेम्बर अफ कमर्सको बरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रमैत्री वातावरण सृजना गर्न सुझाव दिनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार