म्याग्दीमा ४१ जनाले उम्मेदवारी फिर्ता लिए

म्याग्दी। आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा बैशाख ३० गते हुने चुनावका लागि बैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार, मनोनयन दर्ता गराएका मध्ये शुक्रबार ४१ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

जिल्लामा कुल ७१८ उम्मेदवार कायम भएका छन् । प्रमुख÷अध्यक्षमा ३ जना, उपप्रमुख÷उपाध्यक्षमा ५ जना, वडाअधयक्षमा ११ जना, महिला सदस्यमा ५ जना, दलित महिला सदस्यमा ४ र खुल्ला सदस्यमा १३ जनाले उम्मेदवारी फिर्ता लिएको कार्यालयले जनाएको छ । बेनी नगरपालिकामा २३, धवलागिरी गाउँपालिकामा ५ जना, मंगला गाउँपालिकामा ७ र रघुगंगा गाउँपालिकामा ६ जनाले उम्मेदवारी फिर्ता गर्नुभएको छ । अन्नपूर्ण र मालिकामा कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् ।

जिल्लाभर पालिका प्रमुखमा २९, उपप्रमुखमा २३, वडाअध्यक्षमा १४९, सदस्यमा २७५, महिला सदस्यमा १२५ र दलित महिला सदस्यमा ११७ जनाको उम्मेदवारी कायम भएको छ । बेनी नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार धनलाल जैसी र नेकपा एकीकृत समाजबादीका कृष्णकुमार विश्वकर्माले मनोनय फिर्ता गर्नुभएको छ । उपमेयरमा नेपाली कांग्रेसका अमृतदेवी बानियाँ र एकीकृति समाजबादीकी मुना बानियाँले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

मंगलामा एकीकृत समाजबादीका अध्यक्षका उम्मेद्वार रुद्र किसान, उपाध्यक्षकी उम्मेदवार कल्पना सापकोटा, नेशनल मंगोल अर्गनाइजेशनका उपाध्यक्षकी उम्मेदवार भूमि पुन लगायत वडाअध्यक्ष र सदस्यहरुले फिर्ता लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार