म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

बेनी । म्याग्दीमा पाँच वटा राजनितिक दलहरुले जिल्लाका ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । विहिबार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को संयोजकत्वमा कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले आगामी ३० बैशाखमा हुने निर्वाचनमा सबै स्थानीय तहमा साझा उम्मेद्धार बनाएर जाने सहमति गरेका हुन् ।

वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेद्धारको टुंगो लाग्ने कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । ‘सबै दलको वडा तहबाट रिपोर्ट आएपछि अर्को बैठक बसेर रिपोर्टको आधारमा म्याग्दीका सवै वडा र पालिकामा साझा उम्मेद्धार उठाउने निर्णय भएको छ ’,सचिव पुनले भन्नुभयो । म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्न जिल्ला र पालिका स्तरीय संयन्त्र समेत निर्माण गरेका छन् ।

बैठकमा माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशम जुग्जाली,नेकपा एकिकृत समाजवादीबाट जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा,राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष छबि विश्वकर्मा र जनता समाजवादीबाट देबेन्द्र विश्वकर्मा सहभागि हुनुहुन्थ्यो । साथै  संविधान सभा सदस्यद्धय रेशमबहादुर बानियाँ र गोबिन्द पौडेल , गण्डकी प्रदेश सभा सदस्य विनोद केसी , कांग्रेस म्याग्दीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केबी भण्डारी ,टेकबहादुर विक ,हेमराज शर्मा , कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुन ,शेरबहादुर केसी ,देउप्रसाद छन्त्याल,श्रीराम पौडेल ,मुना बानियाँ लगायतको  उपस्थिती रहेको थियो ।

२०७४ को निर्वाचनमा जिसस उपप्रमुख सहित एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्ष , दुई गाउँपालिका उपाध्यक्ष तथा ४५ वटा वडा मध्ये १५ वटा वडा अध्यक्षमा कांग्रेस विजयी भएको थियो । माओवादी केन्द्रले ५ वटा वडा अध्यक्ष जितेको थियो ।

त्यस्तै नेकपा एमाले जिल्ला समन्वय समितिको प्रमुख सहित दुई गाउँपालिका अध्यक्ष ,तीन गाउँपालिका उपाध्यक्ष र २३ वटा वडा अध्यक्षमा विजयी भएको थियो । दुई वटा वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्धार विजयी भएका थिए । भने बेनी नगरको उपप्रमुख राप्रपाले जितेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार