वैशाख ३० को चुनाव सर्दैन : प्रचण्ड

काठमाडौँ । सरकारले बैशाख ३० गते स्थानीय तहको चुनावको मिति तय गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम घोषणा गरेर तयारी तीव्र बनाइसकेको छ । मतपत्र पनि छापिइसकेको छ । आयोगले शुक्रबार (आज) अपरान्ह पाँच बजे औपचारिक कार्यक्रम नै गरेर आचार संहिता लागू गर्दैछ । तथापि, स्थानीय तहको चुनाव सर्ने हो कि भन्ने हल्ला एकाएक सलह जसरी फैलिइरहेको छ ।

यहीबीचमा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठक सकिएलगत्तै माओवादी अध्यक्ष प्रचण्डलाई प्रश्न गर्दा– के बालुवाटार बैठकमा चुनावको मिति सार्नेबारे छलफल भएको हो ? माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सरकार वा गठबन्धन दलहरु कुनै पनि हालतमा बैशाख ३० को चुनाव सार्ने वा यताउता गर्ने पक्षमा छैनन् । चुनाव सर्छ कि भन्ने हल्ला विल्कुल गलत हो ।

कतिपयले विप्लव माओवादीलाई समेत चुनावमा ल्याउनका लागि निर्वाचन कार्यक्रम पछि सार्ने सत्तापक्षबाट तयारी भइरहेको चर्चा गरेका छन् । तर यसबारे चासो राख्दा त्यो सही नभएको माओवादी अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले कुनै पनि हालतमा बैशाख ३० को चुनाव यताउता नहुने स्पष्ट पार्नुभयो। त्यस्तै, सत्तारुढ नेपाली काँग्रेसका एक नेताले निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले आत्तिएको र उसले चुनाव सार्न चाहेको आरोप लगाउनुभयो । विपक्षीबाटै चुनाव सर्ने हल्ला फैलिएको उनले आरोप लगाउनुभयो । सत्तापक्ष चुनाव सार्ने पक्षमा नरहेको ती काँग्रेस नेताले बताउनुभयो।

यसैबीच, गठबन्धन दलहरुले स्थानीय चुनावमा देशव्यापी गठबन्धनको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्न लागेको नेपाली काँग्रेसका एक नेताले बताउनुभयो । ती नेताले भन्नुभयो, ‘रामचन्द्र पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ, गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको छ ।’

गठबन्धनका तर्फबाट देशभरिका ६ वटा महानगरपालिका र उपमहानगरपालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी टुंगो लगाउनेबारे सामान्य कुराकानी भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको गठबन्धनका नेताहरुले बताउनुभएको छ । शुक्रबार बालुवाटारको छलफलमा सहभागी एक नेताले भन्नुभयो,‘यसबारे छलफल त भइरहेको छ तर ठोस रुपमा टुंगो लाग्न बाँकी छ ।’

सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरु शुक्रबार बिहान बालुवाटारमा अनौपचारिक छलफलमा जुटेका थिए । सो छलफलमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डका साथै कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का लगायतको सहभागिता थियो । बैठकमा एकीकृत समाजवादीका नेता झलनाथ खनालको पनि सहभागिता थियो । अध्यक्ष माधव नेपाल भने बारा जिल्लामा भएकाले बैठकमा उपस्थित हुनुभएन् । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार