म्याग्दीका ६ वटै पालिकामा उम्मद्धारी दर्ता

म्याग्दी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाले मनोनयन दर्ता गराएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडाबाट निर्वाचित हुने पदका लागि आइतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन्। शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बेनी नगरपालिकाको ५२ पदमा १७९, धवलागिरीको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १४७, मंगलाको २७ पदमा १०५, रघुगंगाको ४२ पदमा १४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ ।

दावीबिरोध, छानवीन र उमेद्वारी फिर्तापछि उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।मनोनयन दर्ताका लागि उमेद्वारहरु बाजा, गाजा र ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। दोस्रो पटक हुन लागेको स्थानीय तह चुनावको मनोनयन दर्ता उल्लासमय थियो । जिल्लाभर धवलागिरी–१ गुर्जाको वडा सदस्यमा एकल उम्मेद्धारी परेकाले नेकपा माओवादी केन्द्रका सिताकुमारी छन्त्याल निर्विरोध भएको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

उम्मेद्धारहरु निर्वाचन लक्षित कार्यक्रम लिएर गाउँ पस्न थालेका छन् । दोस्रो स्थानीय तहको निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका उम्मेद्धारहरुले वडा र पालिकाको विकास र समृद्धको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एक मात्र नगरपालिका रहेको म्याग्दी जिल्लाको बेनी नगरपालिकाको प्रमुखमा विभिन्न दलहरु र स्वतन्त्र गरी ८ जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेनीको प्रमुखमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट सुरत केसी र उपप्रमुखमा पशुपति शाही, नेपाली कांग्रेसबाट चिरञ्जीवी शर्मा र अमृतदेवी बानियाँ, माओवादी केन्द्रबाट धनलाल जैसी र ज्योती लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी नेकपा समाजवादीबाट कृष्णकुमार विश्वकर्मा र मुनाकुमारी बानियाँ, राप्रपाबाट मिनाकुमारी शर्मा सापकोटा र एकेन्द्रबहादुर रावल, राष्ट्रिय जनमोर्चाबाट टीकाप्रसाद रानामगर र भोमकुमारी कार्की, मङ्गोल नेशनल अर्गनाइजेशनबाट नरबहादुर थापामगर र विवा आले, स्वतन्त्र उम्मेदवार धनबहादुर श्रीषले उम्मेदवारी दर्ता गराएका छन् ।

धवलागिरि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेबाट थमसरा पुन र प्रगति कार्की, कांग्रेस–माओवादीबाट प्रेमप्रसाद पुन र रेशम पुन मगर, एकीकृत समाजवादीबाट बमबहादुर पाइजा, मङ्गोल नेशनल अर्गनाइजेशनबाट शंकरबहादुर पुन र खममाया रोका तथा राप्रपाबाट होमबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट उम्मेद्धारी दिएकी गाउँपालिका अध्यक्ष उम्मेद्धार थमसरा ०७४ को निर्वाचनमा निर्वाचित भएकी हुन् ।

मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेबाट वेगप्रसाद गर्बुजा र लक्ष्मी पुन, कांग्रेसबाट श्रीप्रसाद रोका मगर र पिपला बुढा , माओवादी केन्द्रबाट रेशम जुग्जाली र गौरी सेन्च्युरी, मंगोल नेशनल अर्गनाइजेशनबाट खमबहादुर रोका र धनदेवी घर्ती रहेका छन् । कांग्रेसबाट उम्मेद्धारी दिएका गाउँपालिका अध्यक्षका उम्मेद्धार श्रीप्रसाद रोका मगर २०७४ को निर्वाचनमा निर्वाचित भएका हुन् ।

मंगला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेका सतप्रसाद रोका र प्रेमकुमारी क्षेत्री, कांग्रेसबाट वीरेन्द्र बुढाथोकी र शर्मिला थापा, माओवादीबाट टेकबहादुर विक र सुकमाया रोका, राप्रपाबाट योगेन्द्रमान शेरचन र विन्दु मल्ल, समाजवादीबाट रुद्रबहादुर किसान र कल्पना सापकोटा तथा स्वतन्त्रतर्फ टङ्कप्रसाद बुढाथोकी रहेका छन् । एमालेबाट गाउँपालिका अध्यक्ष सतप्रसाद रोका पनि २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए ।

रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेका प्रेमबहादुर कार्की र यामकुमारी गर्बुजा, कांग्रेसका भवबहादुर भण्डारी र प्रेमकुमारी पुन, माओवादीका मीना विक र रिमबहादुर कटुवाल, मङ्गोलका तुलप्रसाद थापा, स्वतन्त्रबाट सागर भण्डारी र अनुरोध रिजालको उम्मेदवारी दर्ता भएको छ । भवबहादुर भण्डारी गएको ०७४ को निर्वाचनमा निर्वाचित भएका थिए ।
अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेबाट भरतकुमार पुन र दिवाकुमारी तिलिजा पुन, कांग्रेसका बलबहादुर तिलिजा र ललिता तिलिजा, राप्रपाबाट तीर्थबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेशनबाट रामबहादुर गर्बुजा र एलिना पुर्जा शेरपुजाले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार