भरतपुरका बागी उम्मेदवार पौडेलले गृहमन्त्री खाँणलाई भनेफिर्ता नहुने ठाउँमा पुगिसकें

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई पनि उम्मेदवारी फिर्ता नलिने जवाफ दिनुभएको छ ।

आज बिहान गृहमन्त्री खाँणलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ आफूले दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नोमिनेसन फिर्ता गर्दिनुस् भन्ने उहाँको (गृहमन्त्री खाँणको) भनाइ हो । म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु भनेर मैले भनें ।’

उहाँले भन्नुभयो, ‘यो चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरुको भविष्यसँग जोडिएको कुरा हो । यो मैले एक्लै निर्णय गर्ने विषय होइन । त्यसो भएको हुनाले मलाई गाह्रो छ । यो गर्न म सम्भव देख्दिनँ ।’

उनले गृहमन्त्री खाँणले फेरि छलफल गर्ने प्रस्ताव राखेको र आफूले हुन्छ भनेको जानकारी पनि दिनुभयो । पौडेललाई भेटेपछि गृहमन्त्री खाँणले भन्नुभयो, पौडेलले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गर्नुभयो । खाँणले भन्नुभयो, ‘जगन्नाथ पौडेलले पार्टीको निर्णय मान्नुहुन्छ भन्ने मेरो विश्वास छ, पार्टीको निर्णय सबैले मानेर जान्छन् ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार