एमालेको घोषणापत्रमा मान्छे छैन, अग्ला भवन र भ्यूटावर मात्र छ : महामन्त्री शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

बुधबार कांग्रेसले विराटनगरमा गरेको आमसभामा बोल्दै उनले एमाले र कांग्रेसको घोषणापत्रको तुलना गर्नुभएको हो । ‘एमाले र कांगेसको घोषणापत्र पढ्नुस्, समृद्धिको कुन बाटो रोज्ने तपाईं रोज्न सक्नुहुन्छ’ उहाँले भन्नुभयो, ‘ एमालेको घोषणापत्रमा एउटा पनि मान्छेको अनुहार राखिएको छैन, कांग्रेसको घोषणापत्रमा तपाईंले आफूलाई देख्नुहुन्छ, तपाईको आमा उभिएको देख्नुहुन्छ, भाइ, बहिनी वा बाबा उभिएको देख्नुहुन्छ ।’

एमालेको घोषणापत्रमा भने अग्ला अग्ला भवन र भ्यूटावर देखिएको तर मान्छेको अनुहार नदेखिएको महामन्त्री शर्माले भन्नुभयो । कांग्रेसले भने ह्वील चेयरमा बस्ने र सुकुम्बासीहरुलाई घोषणापत्रमा प्राथमिकता दिएको उहाँले बताउनुभयो । महामन्त्री शर्माले कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्नुपर्ने बाध्यता भएको बताउनुभयो । संविधानलाई ठीक ठाउँमा ल्याउन गठबन्धन बाध्यतात्मक भएको उहाँको भनाइ छ ।

‘अहिले नेपाली कांग्रेस ७५३ स्थानीय तहमध्ये ६२४ स्थानको प्रमुख लिएर लडिरहेको छ, अहिलेको बेलामा कोही बलियो भएर होइन, संविधानलाई ठीक ठाउँमा ल्याउन कुन प्रवृत्तिलाई बलियो बनाउने भन्ने कुरा हो’ उहाँले भन्नुभयो ।तालमेलबाट कांग्रेस स्थानीय तह निर्वाचनमा मात्र होइन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि ठूलो दल बन्ने शर्माले बताउनुभयो ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार