नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्छ : प्रचण्ड

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा रहेको नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्ने बताउनुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारका लागि मत माग्न रौतहट पुगेका प्रचण्डले जेठ ३ गते संसद् सुचारु भएपछि संसद् अवरोधकै बीच भएपनि नागरिकताको समस्या समाधान गर्ने बताउनुभयो ।

उहाँले संघीयता, लोकतन्त्र विरोधी तथा प्रतिगामी शक्तिलाई परास्त गर्न माओवादी केन्द्रका उमेदवारहरूलाई विजयी गराउन आग्रह गर्नुभयो । प्रचण्डले निर्वाचन लगत्तै दुर्गा भगवती गाउँपालिका बासीलाई जग्गाधनी प्रमाणपत्र लाल पुर्जा वितरण गराउने बताउनुभयो । उनले रौतहटको विकासमा माओवादी केन्द्रले साथ दिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनले संघीयता विरोधी तत्त्वलाई पाखा लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने बताउनुभयो । केही पार्टीलाई संघीय लोकतान्त्रिक गणतन्त्र मन नपरेको भन्दै उहाँले यसका विरुद्ध विभिन्न षड्यन्त्र गरेर संविधान र व्यवस्थालाई उल्टाउन खोजिरहेको आरोप लगाउनुभयो । उहाँले दुर्गा भगवती गाउँपालिकालाई झुपडी मुक्त बनाउनुका साथै अन्य समस्या पनि समाधान गरिने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार