लुलाङमा कांग्रेस –माओवादीकाे चुनावी प्रचार

लुलाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ ,लुलाङमा सोमबार नेपाली काँग्रेस र नेकपा (माओवादी)का उमेद्वारहरुले चुनाव प्रचार गरेका छन् ।नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन, वडा अध्यक्षमा काँग्रेसका ज्ञानबहादुर पाइजा लगायतको टोलीले घरदैलो, मतदाता भेटघाट र चुनावी सभा गरेका हुन् ।

खोरीया र लमसुङमा घरदैलो गरेर गठबन्धनलाई भोट मागेका उनिहरुले लुलाङमा सभा मार्फत प्रचारप्रसार गरेका हुन् । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले लुलाङबासीको समस्या समाधान र विकासका लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन आव्हान गर्नुभयो ।

‘लुलाङको सडकको विषयमा हामी गम्भिर र प्रतिवद्ध छौ,’ उहाँले भन्नुभयो ‘विद्यालयको भवन निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गरेर बजेट ब्यवस्थापनको पहल गरिएको छ ।’ नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य खुमनाथ सुवेदी र गाउँपालिका अध्यक्ष यामन रोकाले आफ्नै पार्टीको बहुमत भएको संसद बिघटन गरेर जनमतको अपमान, ब्यवस्था र संबिधान बिरोधी काम गर्ने ओली प्रवृतिलाई परास्त गर्न संबिधान, गणतन्त्र, संघीयता पक्षधरहरुको गठबन्धन बनेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुनले नर्जाको स्लेट खानीलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न सकेमा रोजगारी सिर्जना गर्न सकिने, केन्द्रिय प्रशारण लाइनको विद्युत र सडक विस्तारका लागि प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो ।

उपाध्यक्षका उमेद्वार रेशम पुनले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण र अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने बताउनुभयो । कार्यक्रममा सहभागि काँग्रेस र माओवादीका स्थानीय कार्यकर्ताहरुले विगतको समिक्षा गर्दै यसपालीको चुनावमा गठबन्धनका उमेद्वार जिताउन सहकार्य गरेर प्रचारमा जुटेको बताएका थिए ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार