पार्टी एक गर्नेबारे राप्रपासँग अनौपचारिक कुरा भएको हो, त्यसपछि संवाद अघि बढेन : रवीन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग केही समयअघि पार्टी एक बनाएर जानेबारे अनौपचारिक कुराकानी भएको बताउनुभएको छ ।

दुई पार्टी एक ठाउँमा आउन सके हस्तक्षेपकारी विन्दुमा पुग्न सकिन्छ भनेर छलफल गरिएको तर संवाद त्यसअघि अघि बढ्न नसकेको मिश्रले बताउनुभयो ।

‘राप्रपा र हामीबीच अनौपचारिक कुराकानी भएको हो। यदी दुई पार्टी एक ठाउँमा आउन सके हस्तक्षेपकारी विन्दुमा पुग्न सकिन्छ भनेर,’ चितवनमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘देश रूपान्तरण गर्न हस्तक्षेपकारी विन्दुमा त पुग्नुपर्छ। त्यही भएर केही संवाद भएको हो। त्यसपछि संवाद अघि बढ्न सकेन। हामी आ–आफ्नो ठाउँमा छौं।’

उहाँले विचारमाथि देश दस्तावेजमा स्थानीय तहलाई पुनसंरचना र सुदृढ गर्दै संघीयता खारेजीका कुरा उल्लेख गरिएको बताउनुभयो । ‘धर्म निरपेक्षताका बारेमा जनताका राय लिने भनेका छौं। हामीले हिन्दु राष्ट्र र राजसंस्था भनेको छैन,’ उहाँले भन्नुभयो।

उहाँले स्वतन्त्र व्यक्ति निर्माण गरेर भन्दा पनि पार्टी नै राम्रो बनाएर देश रूपान्तरण गर्न सकिने बताउनुभयो । उक्त कार्यक्रममा भरतपुर महानगरमा पार्टीबाट मेयर उठेका प्रवीन काफ्लेले प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार