रोल्पामा कांग्रेस र माओवादीबीच झडप, उम्मेदवार घाइते

काठमाडौँ । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा गए राति झडप हुँदा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते हुनुभएको छ ।कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको हो। बुधबार तालावाङ बजारमा चुनावी सभा भएको थियो। त्यो सभा सकेर फर्कने क्रममा झडप भएको हो।

डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ। कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले पार्टीका उम्मेदवारमाथि आक्रमण भएको बताउनुभयो। ‘उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार भएको हो,’ उहाँले भन्नुभयो । उहाँलाई उपचारका लागि दाङ लगिएको छ।

आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरिएको माओवादीको दाबी छ। माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले कांग्रेसले आक्रमण गरेपछि प्रतिकार गरेको बताउनुभयो । प्रहरी निरीक्षक थमन जिसीले गए राति झडप भए पनि अहिले अवस्था सामान्य रहेको बताउनुभयो। स्थानीय चुनावमा माडीमा माओवादी र एकीकृत समाजवादी तथा कांग्रेस र एमालेबीच तालमेल छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार