राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौं आयोजित कार्यक्रममा उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने बताउनुभएको हो ।

उपराष्ट्रपति पुनले भन्नुभयो, ‘सूचनाको उज्यालोबाट मात्रै सुशासन, असलशासन वा हामीले चाहेको जस्तो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न सकिन्छ ।’ सुशासन, लोकतन्त्र र राष्ट्रको समृद्धिका लागि सूचनाको हकको ज्यादै महत्व रहेको उल्लेख गर्दै उनले जहाँ नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारवाहीबारे सहज सूचना पाउँछन्, त्यो राज्यमा सुशासन र असलशासन कायम हुने बताउनुभयो ।

उहाँले लोकतन्त्रमा आमजनता सूचनाबाट सुसूचित हुनुपर्ने बताउँदै राज्यले सार्वजनिक महत्वबारे सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आर्थिक वर्ष २०७७/०७८ मा सम्पादित प्रमुख कार्यमध्ये आयोगमा दर्ता भएका सबै ७५३ पुनरावेदन उपर कारवाही गरेको जानकारी दिनुभयो ।

सो अवसरमा आयोगले सूचना अभियान्ता उमीदप्रसाद वागचन्द, दुर्गा आचार्य, कैलाश माझि, मनोज रौनियारलाई ‘विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कार–२०७९’ प्रदान गरेको छ । त्यसैगरी विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी (सूचना अधिकारी) ई.निर्मला लामा, दुर्गाप्रासद शर्मा, राजु आचार्य, सत्य नारायण हुजदार र गोकर्णराज वाग्लेलाई ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०७९’ प्रदान गरिएको छ । त्यस्तै आयोगका कर्मचारी उपसचिव विश्ववन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायवसुब्बा हेमन्त रिज्याललाई पनि आयोगले उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि जनही ३५ हजार रहेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार