निस्कोटमा कांग्रेसको चुनावी कार्यक्रम (तस्बिरहरु )

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ स्थित निस्कोटमा नेपाली कांग्रेसले चुनावी कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस म्याग्दीका उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले मालिकाको विकास ,सुशासन र समृद्धीको लागि कांग्रेसका उम्मेद्वारहरुलाई मत दिन आह्वान गर्नुभयो । कांग्रेसको नेतृत्वमा देशमा हरेक ठुला परिवर्तन सम्भब भएको बताउँदै उहाँले देशलाई राजनितिक स्थायीत्व प्रदान गर्न ,देशको विकास संगै सुशासन कायम गर्न कांग्रेसका जनप्रतिनिधिले जित्न आवश्यक रहेको दावी गर्नुभयो ।

कार्यक्रममा कार्यक्रममा मालिका गाउँपालिका अध्यक्षका उम्मेद्धार श्रीप्रसाद रोका मगरले मतदाताहरुलाई धन्यवाद ब्यक्त गर्दै अघिल्ला कार्यकालमा अधुरा रहेका योजनाहरु पुरा गर्न ,थप विकास गर्न ,सुशासन कायम गर्न र समृद्ध मालिका गाउँपालिका निर्माण गर्न आफुले अध्यक्ष पदमा पुनः उम्मेद्वारी दिएको बताउनुभयो । वडा अध्यक्ष लगायत जनप्रतिनिधिको जनताप्रतिको इमानदारीता ,पहल ,सक्रियता र वडाबासीको सकरात्मक सहयोगले गर्दा वडा नम्बर १ मा विकासले गति लिन सकेको उहाँको भनाई थियो ।

पहिलो कार्यकालमो विकासका आधारभुत सुरक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, केन्द्रीय प्रसारण लाइनको विद्युतको पहुँच नपुगेका बस्तीमा स्थानीय उत्पादित लघुजलविद्युतको स्तरोन्नती तथा दुर्गम बस्तीमा सोलार वितरण लगायत सुविधा दिन सकिएको निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनुभएका अध्यक्षका उम्मद्वार रोका मगरले बताउनुभयो । गाउँपालिकामा भएका हरेक गतिविधिलाई पारदर्शी बनाउने ,सुशासन कायम गर्ने प्रयत्न गरेको गरेको उहाँको भनाई छ ।

एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको सहयोगमा पहिलो कार्यकाल सफल भएको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा सात वटै वडाबासीको माग अनुसार आफुले काम गरेको बताउँदै ठुला आयोजनाका लािग प्रदेश र संघ सरकारसंगको सहकार्यमा सम्बोधन गरेको बताउनुभयो । गाउँपालिकाले अनियन्त्रित कुनै तरिकाले बजेट वितरण नगरेको उहाँले बताउनुभयो । जनताको आवश्यकता र समस्या बुझेर आफुहरुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिका उपाध्यक्ष उम्मेद्वार पिपला बुढाले पालिकालाई थप विकसित ,सुशासन र समृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।निवर्तमान वडा नम्बर ५ की वडा अध्यक्ष समेत रहनुभएकी उपाध्यक्ष उम्मेद्वार बुढाले गाउँपालिकामा महिलाहरुले पाउने सेवालाई सरल बनाउँदै न्यायीक सेवालाई समेत प्रभावकारी बनाउने उहाँले योजना सुनाउनुभयो । निवर्तमान अध्यक्ष तथा वडा अध्यक्षका उम्मेद्वार टंकप्रसाद पुनले २०७४ को निर्वाचनमा वडाबासीको सहयोगले आफु निवार्चित भएको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले पाँच बर्षको अवधिमा वडामा ठुलो काम भएको दावी गर्नुभयो । उहाँले सडक ,शिक्षा ,स्वास्थ्य,विद्युत ,खानेपानी लगायत नागरिकका आधारभुत आवश्यकता पुरा गर्न आफु प्रयत्नशिल भएको बताउनुभयो । अधुरा रहेका योजना पुरा गर्न र वडालाई समृद्ध बनाउन पुनः उम्मेद्वारी दिएको बताउँदै मत दिएर सहयोग गर्न अपिल गर्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघ म्याग्दीका पुर्व अध्यक्ष तथा कांग्रेस नेता दुर्गाराम सुवेदी , महाधिवेशन प्रतिनिधि सदस्य देबिका बुढा मगर ,कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन ,चुनाव प्रचारप्रसार संयोजक मोहन छन्त्याल ,कांग्रेस मालिका गाउँपालिका सचिव विरेन्द्र किसान , प्रचारप्रसार सदस्य लेकबहादुर पुन , इकाई सभापति भबहादुर पुन ,वडा सदस्य उम्मेद्वारहरु दिलकुमार पुन ,मानसिङ सापकोटा ,तनदेवी पुन लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन कांग्रेस प्रदेशसभा खका सचिव हिराबहादुर पुनले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार