कसैलाई जिताउन वा हराउन गठबन्धन बनाएको होइन : खड्का

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैलाई जिताउन वा हराउनका लागि गठबन्धन नबनाइएको तर्क गर्नुभएको छ । वीरेन्द्रनगरको पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधान र गणतन्त्रको रक्षार्थ गठबन्धन बनाइएको दाबी गर्नुभयो ।

उहाँले केपी शर्मा ओलीको दम्भका कारण पटकपटक संसद विघटन गरिएको जिकिर गर्दै आफूहरुले वृहत छलफल गरेर त्यसका विरुद्ध गठबन्धन निर्माण गरेको उहाँले बताउनुभयो । ओलीले जनताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध काँग्रेस, माओवादी लगायतका दलहरु गठबन्धनमा संगठित भएर संघर्षमा होमिएको उहाँको भनाइ थियो ।

‘ओलीको अहंकार, एमालेको प्रतिगमनकारी, गणतन्त्रविरोधी कृयाकलापलाई परास्त गरी संविधान बचाउनका लागि गठबन्धन गरेका हौं,’ उहाँले भन्नुभयो, ‘यो गठबन्धन कसैलाई जिताउन वा हराउनका लागि बनेको होइन ।’ शान्ति प्रकृयाका बाँकी काम पूरा गर्नका लागि पनि गठबन्धन आवश्यक रहेको उहाँले बताउनुभयो । वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यो पालिकामा काँग्रेसले मेयरमा उपेन्द्र खड्कालाई र उपमेयरमा नेकपा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार