स्थानीय निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने अवसर : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आसन्न स्थानीय निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिबीचको लडाइँ भएको बताउनुभएको छ । शर्माले विशेष अपिल जारी गर्दै निर्वाचन सत्य र झुटबीचको संघर्ष भएको बताउँदै उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ , ‘तपाईंको हरेक एक मतले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्यायसहितको समृद्धिको एजेन्डा संस्थागत गर्न निर्णायक भूमिका खेल्नेछ ।‘

वैशाख ३० गते ७ सय ५३ वटै पालिकामा जनताका असली प्रतिनिधि चयन गर्ने ऐतिहासिक दिन मात्र नभएर निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने महत्वपूर्ण माध्यम र अवसर भएको उहाँले बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका शर्मा भन्नुभयो, ‘स्थानीय तहहरू सामान्य सरकार होइनन् । यी त स्थानीय लोकतन्त्र, स्थानीय विकास, स्थानीय सेवा प्रवाह र स्थानीय शासनका केन्द्रबिन्दु हुन । स्थानीय तह संघीय संरचनामा संघीयताको लाभ जनतालाई प्रत्यक्ष रूपमा अनभूत गराउने प्रस्थानबिन्दु पनि हुन् ।

नागरिकको सबैभन्दा नजिकको शासकीय इकाइ स्थानीय तह सबल र सक्षम नभई मुलुकको विकास र समृद्धि सम्भव छैन । आम नागरिकमा सुशासनको प्रत्याभूति गराउने मुख्य कर्तव्य रहेको स्थानीय तहको महत्व असीमित छ । संघीयताको प्रभावकारिता मापन गर्न स्थानीय तहको प्रभावकारिता हेर्नुपर्छ ।’ स्थानीय तहको कार्यसम्पादनले मुलुकको समग्र समृद्धिको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सबल, सक्षम, क्षमतावान्, सुशासनयुक्त र प्रभावकारी स्थानीय तह अहिलेको आवश्यकता भएको शर्माको जिकिर छ ।

‘संविधानमा रहेको व्यवस्थाअनुसार तीनै तहको सरकारबीच अन्तर्सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा रहनुपर्ने हुन्छ । संविधानमा व्यवस्था भएको अधिकारको सूचीबमोजिम संघ, प्रदेश र स्थानीय तीनवटै तहबाट मानव संसाधन, भौतिक पूर्वाधारको विकास र जनतामा सेवा प्रवाह हुन्छ । स्थानीय तहको ठीक ढंगको राजस्व परिचालन, पारदर्शिता र सुशासन अनिवार्य छ । यी मतदानपूर्व हामीले ध्यान दिनुपर्ने विषय हुन्,’ उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार